close

विद्यालयलाई अनुदान रकम बाँड्दै सिदिङ्वा

विद्यालयलाई अनुदान रकम बाँड्दै सिदिङ्वा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार्न पालिकाभरका विद्यालयलाई अनुदान रकम दिने घोषणा गरेको छ ।

 

प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनका अनुसार चालू आर्थिक वर्षको स्वीकृत वार्षिक बजेटबाट शैक्षिक क्षेत्र सुधार तथा शैक्षिक गुणस्तर कायम गर्न यो रकम वितरण हुन लागेको हो ।

 

सम्पूर्ण आर्थिक दायित्व तथा जिम्मेवारी सम्बन्धित विद्यालयको हुने तथा शिक्षक नियुक्तिसमेत गर्नुपर्ने अवस्थामा त्यसको दायित्व सम्बन्धित विद्यालयले नै बेहोर्ने गरी तहगत रूपमा अनुदानको व्यवस्था गर्न लागिएको उनले जानकारी दिए ।

 

‘गाउँ कार्यपालिकाको २९ पुसको बैठकले अनुदान प्राप्त गर्ने विद्यालय र अनुदान रकमको निक्र्योल गरेको हो’, प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले भने ।

 

उनका अनुसार सरस्वती मावि साब्लाखुले ४ लाख ६० हजार, सिंहेश्वरी मावि आङ्खोपले ३ लाख ६० हजार र आँगेपा आधारभूत विद्यालय आङ्खोप र इन्द्रावती आधारभूत विद्यालय आङ्खोप प्रत्येकले ३ लाख ४० हजार रुपैयाँका दरले गाउँपालिकाबाट अनुदान पाउनेछन् ।

 

यस्तै, सिद्धेश्वरी मावि सादेवा, इन्द्रावती आधारभूत विद्यालय आङ्खोप, खेसेबुङ आधारभूत विद्यालय सादेवा, गौतमबुद्ध आधारभूत विद्यालय लिम्बूदिन, जसोदा आधारभूत विद्यालय मेहेलेले ९८ हजार रुपैयाँ अनुदान पाउनेछन् ।

 

यस्तै, जलपा आधारभूत विद्यालय कालिखोला, देउराली आधारभूत विद्यालय लिम्बूदिन र मकालू आधारभूत विद्यालय आङ्खोपले प्रत्येकले ९८ हजार रुपैयाँका दरले अनुुदान पाउनेछन् ।

 

मझुवा बाल विकास केन्द्र आङ्खोप, राधिका आधारभूत विद्यालय साब्लाखु, राम आधारभूत विद्यालय लिम्बूदिन, श्यामटार आधारभूत विद्यालय कालिखोला, सुम्निमा ओडारे आधारभूत विद्यालय सादेवा, आदर्श आधारभूत विद्यालय कालिखोला र सिदिङ्वा आधारभूत विद्यालय कालिखोलालाई पनि ९८ हजार रुपैयाँका दरले रकम उपलब्ध गराइने गाउँपालिकाले जानकारी दिएको छ ।