close

सिदिङ्वाको किसान लक्षित अनुदान : बाख्रा र बंगुर सित्तैमा 

सिदिङ्वाको किसान लक्षित अनुदान : बाख्रा र बंगुर सित्तैमा 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत बाख्रा र बंगुरपालनका लागि किसानलाई अनुदान उपलब्ध गराउने भएको छ । 


साना व्यावसायिक कृषि उत्पादन केन्द्रमार्फत किसानलाई बाख्रापालनका लागि १५ लाख र बंगुरपालनका लागि १० लाख गरी २५ लाख रुपैयाँ अनुदान उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले जानकारी दिए ।

 

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रममार्फत यो ससर्त अनुदान किसानलाई उपलब्ध गराउन लागिएको हो’, उनले भने ।

 

६ सय वटा बाख्रा र ६० माउ बंगुरमा किसानलाई अनुदान उपलब्ध गराइनेछ । त्यसका लागि १६ माघसम्म गाउँपालिकाको पशु सेवा शाखामा आवेदन दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले बताए ।


कानुनबमोजिम दर्ता भएका कृषि फर्म, कृषक समूह, सहकारी, जल, वन उपभोक्ता समितिले समेत अनुदानका लागि आवेदन दिन सक्नेछन् । 


आवेदन दिने कृषि फर्म, कृषक समूह, वन उपभोक्ता समितिले सम्बन्धित निकायमा दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, योजना माग गर्ने संस्थाको कार्यसमितिको निर्णयको प्रतिलिपि, अध्यक्ष/प्रोप्राइटर तथा सदस्यको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपिसमेत संलग्न राख्नुपर्ने गाउँपालिकाको पशु सेवा शाखा प्रमुख एञ्जलबाबु कार्कीले बताए ।