close

तोक्मेडाँडाको त्यो भाषणः ओली भन्थे–देश पार्टी र मैले विश्वास गरेको युवा, भट्टराई भन्थे–ओली मेरा बा !

तोक्मेडाँडाको त्यो भाषणः ओली भन्थे–देश पार्टी र मैले विश्वास गरेको युवा, भट्टराई भन्थे–ओली मेरा बा !

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान पर्यटनमन्त्री योगेशकुमार भट्टराईले एकअर्कामा गरेका कटाक्षले अहिले सामाजिक संजाल फेसबुक रंगिएको छ । 


प्रधानमन्त्री ओलीले शनिबार राजधानीमा आफ्नो खेमाको प्रदेश १ स्तरीय भेलालाई सम्बोधन गर्दै नेता भट्टराईप्रति व्यंग्य गरेका थिए । ओलीले आफूप्रति गरेको प्रहारलाई सामाजिक संजालमार्फत खण्डन गर्दै उनले ओलीको स्तर आफूले थाहा पाएको र खुसी लागेको कटाक्ष गरेका छन् । 


ओलीले शनिबार आयोजित कार्यक्रममा भट्टराईप्रति कटाक्ष गर्दै भनेका थिए, ‘बैगुनी केटो ! दौडीदौडीकन गएर भोट मागेर यो केटालाई जिताएर पठाइदिनुहोस्, मन्त्री बनाएर पठाइदिन्छु भनेर मन्त्री पनि बनाइयो । एक दिन त पुक्क लात्तले हानेर भाग्यो । को रहेछ भनेर हेरेको त उही केटो... ।’ 


प्रधानमन्त्री ओलीले आफूप्रति गरेको व्यंग्यको जवाफ दिँदै भट्टराईले सामाजिक संजालमार्फत भनेका छन्, ‘केटा र केटीहरूको रगत, पसिना र मिहिनेतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो । केटो भनिपाउँदा मलाई दुःख छैन, तपाईंको स्तर थाहा पाएँ, खुसी लाग्यो ।’


ओली र भट्टराईको एकआपसको कटाक्षपछि सामाजिक संजालमा चुनावीसभा हुँदा ताप्लेजुङको फुङ्लिङस्थित तोक्मेडाँडामा ओली र भट्टराई दुवैले गरेका चुनावी भाषणसमेत सामाजिक संजालमा बाहिर आएका छन् । 


ओलीले भट्टराईको प्रशंसा गर्दै ‘यस्तो युवा, यस्तो देशदरार, पार्टीले विश्वास गरेको, मैले विश्वास गरेको, यस्तो युवा मस्तिष्क र युवा काँधले देश बनाउँदैन होला ? जिताएर पठाउनुहोस्, मन्त्रीको बिल्ला भिराएर फर्काउँछु’ भनेका थिए । 


पछि ओली प्रधानमन्त्री नियुक्त हुँदा सरकार गठनको प्रारम्भिक चरणमै भट्टराई मन्त्री हुने जनआशा लामो समयसम्म पूरा नभएपछि ओलीले बचन पूरा नगरेको भन्दै ओलीको त्यो भाषणको चर्को आलोचना भएको थियो । 


तत्कालीन पर्यटमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गएपछि रिक्त पदमा ओलीले भट्टराईलाई पर्यटनमन्त्री बनाएका थिए । ओलीभन्दा अघि बोलेका भट्टराईले ओलीको प्रशंसा गर्दै ओलीलाई मदन भण्डारीको उत्तराधिकारीको रूपमा ब्याख्या गरेका थिए । 


भट्टराईले आफूले पंचायतकालमा पाएको यातनामा ढाडस दिने र कुटिएर थिलथिलो भएको ज्यानमा तातो तेल लगाएर मालिस गर्दा आफूले ‘बाबु’को अनुभव गरेको भन्दै ओलीको प्रशंसा गरेका थिए । 

 

आफूले जन्मेको २ वर्षमै बाबु गुमाएर न्यानो माया नपाएको तर यातनाले थिलथिलो भएको शरीरमा तातो तेल लगाएर ओलीले मालिस गरिदिँदा ‘बाबु’भन्ने यस्ता हुँदा रहेछन् भन्ने अनुभूत गरेको भन्दै ओलीको गुणगान मात्र गाएका थिएनन्, राजनीतिक खेलमा समेत आफूले ओलीलाई अभिभावक मानेर उनकै पछिपछि दौडिरहेको बताएका थिए ।