close

प्रहरी कार्यालयमा स्नतपान कक्ष (भिडियाे खबर)

प्रहरी कार्यालयमा स्नतपान कक्ष (भिडियाे खबर)

ADVERTISEMENT

म्याग्दी- म्याग्दीका स्थानीय तहले सुरक्षा र विपद् व्यवस्थापनमा सुरक्षा निकायलाई सघाएका छन् । स्रोत, साधन र पूर्वाधारको अभावमा प्रभावित भएको प्रहरीको सुरक्षालाई प्रभावकारी बनाउन स्थानीय तहले सघाएका हुन् । 


रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा नागरिक सहायता र स्तनपान कक्ष स्थापना भएको छ । गाउँपालिकाको २ लाख ५० हजार र गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीको व्यक्तिगत ६१ हजार ६९५ रुपैयाँमा प्रहरीले श्रमदान गरेर स्तनपान कक्ष स्थापना गरेका हुन् । 


प्रहरी कार्यालयको प्रवेशद्वारमा प्रयोगविहीन बनेको भवनलाई नै पुनर्निर्माणमा निर्माण गरेर प्रिफ्याब प्रविधिको सहायतामा कक्ष निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।


नागरिक सहायता, स्तनपानका साथै सरकारको ३ लाख ५० हजार रुपैयाँ लगानीमा प्रहरी कार्यालयको भवनमा निर्माण भएको तालिम तथा बैठक कक्षको प्रमुख जिल्ला अधिकारीले उद्घाटन गरेका छन् ।

 

म्याग्दीका स्थानीय तहले प्रहरी कार्यालय र मातहतका इकाइको पूर्वाधार, प्रविधि र स्रोत साधनमा गरेको सहयोगका कारण सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुगेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको भनाइ छ । 


जिल्ला प्रहरी कार्यालय म्याग्दीमा यसअघि हिंसा प्रभावित महिला तथा बालबालिकाको आश्रयका लागि निर्माण गरिएको भवनको एउटा कोठामा सहायता कक्ष संचालन गरिएको थियो । प्रवेशद्वारभन्दा टाढा र आश्रयस्थलसँगै रहेको सहायता कक्ष प्रभावकारी हुन सकेको थिएन । 


सेवाग्राही र प्रहरी, कर्मचारीलाई बच्चालाई स्तनपान गराउन समस्या भएको थियो । कम्युटरको माध्यमबाट दैनिक रूपमा सेवाग्राहीको विस्तृत विवरण राखिने र सन्तुष्टिको मापनका लागि फारमसमेत भर्ने व्यवस्था मिलाइएको छ ।


सहायता कक्षमा एक जना प्रहरी कर्मचारी खटाइएको छ । सहायता कक्षबाट सेवाग्राहीलाई परामर्श, सम्बन्धित शाखा, अधिकारीसँग सम्पर्क गराएर छिटो, छरितो सेवा प्रवाह गर्नुका साथै बिचौलियाको सहायता लिनुपर्ने अवस्थाको अन्त्य गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।