close

वैदेशिक रोजगारीबाट फर्केर उद्यम गर्नेलाई पुरस्कारकाे नीति, सरकारले गुहार्‍याे स्थानीय तह

वैदेशिक रोजगारीबाट फर्केर उद्यम गर्नेलाई पुरस्कारकाे नीति, सरकारले गुहार्‍याे स्थानीय तह

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- संघीय सरकारले वैदेशिक रोजगारीबाट फर्की नेपालमै उत्कृष्ट उद्यम गरेकाहरूलाई राष्ट्रिय पुरस्कारबाट सम्मान गर्ने प्रक्रियामा देशभरका सबै स्थानीय तहको सहयोग मागेको छ ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ पुस २०७७ मा देशभरका सबै स्थानीय तहलाई पत्र लेख्दै वैदेशिक रोजगारीबाट फर्की नेपालमै उद्यम गरेका उद्यमीहरूका लागि राष्ट्रिय पुरस्कार, २०७७ को आवेदन मागका लागि आवश्यक समन्वयको व्यवस्था मिलाउन भनेको छ ।

 

संघीय मामिला मन्त्रालयको स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत जनकराज शर्माका अनुसार आवेदकले १९ माघभित्रमा आवेदन दिइसक्नुपर्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २८ पुसमा २१ दिने म्याद दिएर राष्ट्रिय पुरस्कारका लागि आवेदन दिन वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमा उद्यम गरेका उद्यमीहरूलाई आह्वान गरेको थियो ।


मन्त्रालयका अनुसार नेपाली नागरिक, श्रमिक भिसामा विदेशमा गई कम्तीमा १ वर्ष काम गरी फर्किएको र विगत ५ वर्षभित्र श्रम मन्त्रालयबाट यस्तो प्रकारको कुनै पनि पुरस्कार प्राप्त नगरेको व्यक्तिले यो तहको राष्ट्रिय पुरस्कारका लागि आवेदन दिन सक्नेछन् ।


आवेदनका साथ नेपाली नागरिकताको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, भिसासहितको राहदानीको प्रतिलिपि, व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष ०७६/०७७ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि र यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणासमेत संलग्न राख्नुपर्ने मन्त्रालयले जनाएको छ ।

 

आवेदन फाराम र सोसम्बन्धी कार्यविधि मन्त्रालयको वेबसाइट  www.moless.gov.np बाट डाउनलोड गर्न सकिनेछ । आवेदन मन्त्रालयको रोजगार समन्वय सूचना शाखामा सिधै वा स्क्यान गरी मन्त्रालयको ईमेल ठेगाना  [email protected] मा पठाउन सकिने समेत मन्त्रालयले जनाएको छ ।