close

लिफ्टिङ प्रविधिले जगाएकोे खानेपानी आस (भिडियाे खबर)

लिफ्टिङ प्रविधिले जगाएकोे खानेपानी आस (भिडियाे खबर)

ADVERTISEMENT

बाग्लुङ- उजेली नेपाली बाग्लुङ नगरपालिका वडा नम्बर- ८ सिगाना आएको धेरै वर्ष भयो । बिहे गरेर आउँदाको दिनयता उनले कहिल्यै पूरा निद्रा सुत्न पाएकी छैनन् । 


निद्रामै पानीका लागि लाइनमा बसेको सपना देख्ने उनलाई पानीका लागि झगडा नगरेको दिन नै थिएन । बिहान मिर्मिरे नहुँदै पँधेरा पुगेकी उजेली पालो कुर्दाकुर्दा घण्टौँ बितेको अहिले पनि सम्झिन्छिन् । बाग्लुङ नगरपालिका- ८ सिगानाको लामीचौरमा पानीका मुहान छैनन् । 


अधिकांश दलित समुदायको बसोवास रहेको गाउँमा भएको एउटा धारोमा पानी भर्ने पालोका लागि दिनदिनै झगडा हुन्छ । छिमेकमा भएका मुहान विवादले प्रयोग गर्नै दिँदैनन् । भएको एउटा धारोमा दर्जनौँ गाग्रीले पालो लगाउँछन् ।

 

पालो मिच्नेका कारण दिनदिनै झगडा हुने गरेको उजेली सुनाउँछिन् । आफ्नै मुहान नभएकाले यहाँका उजेली नेपाली जस्ता सयौँ गृहणीले पानीको समस्या भोग्दै आएका छन् भने अवस्था विस्तारै सुधार हुँदै गएको छ ।


स्थानीय तहको निर्वाचनका बेला मत माग्न पुगेका बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले माटो समातेर खाएको कसम लामीचौरकी सीता दर्जीको आँखामा झल्झली आउँछ । अहिले उनकै समन्वयमा लामाचौरमा पानी पुग्ने आस पलाएको छ । 


गाउँभन्दा ८०० मिटर तल खोल्साको पानी सहमति गरेर लिफ्टिङ प्रविधिमार्फत लामाचौरमा वितरण गर्ने योजनाको काम सुरु भएको छ । लामीचौर खानेपानी उपभोक्ता समितिले मुहानको व्यवस्था गरेपछि योजनाको काम सुरु गरेको हो । योजनाको मुहानमा बन्ने ट्यांकीको शिलान्यास गरिएको छ । आफूले गरेको प्रतिबद्धता सम्झिएर नगरप्रमुख नै भावुक बनेका थिए ।


मुहानबाट २५० मिटर हावामा र ८०० मिटर मैदानमा पर्ने उच्च भागमा पानी पुर्‍याइने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाग्लुङले जनाएको छ । मुहानमा सानो ट्यांकी बनाएर ७.५ एचपीको मोटरले मुख्य ट्यांकीमा पानी तानिनेछ । मुख्य ट्यांकीबाट ८० मिटर माथि पुर्‍याउनका लागि २५ एचपीको मोटर प्रयोग हुनेछ । 


२.५ इन्चको पाइपमा प्रतिसेकेण्ड २ लिटर पानी तान्ने योजना रहेको कार्यालयले जनाएको छ । ६ घण्टा पानी तान्दा लामीचौरका १८० घरमा पानी प्रशस्त पुग्नेछ । ५० हजार लिटरको एक, २० हजार लिटरका ३ र २० हजार लिटरको एक ट्यांकी बनाउने योजना छ । यसका लागि चालू आर्थिक वर्षमा प्रदेश सरकारले १२ लाख रुपैयाँ विनियोजन गरेको छ । 


पानीको अभावका कारण यहाँका स्थानीयले सरकासफाइ र तरकारी खेतीका लागिसमेत सास्ती भोग्दै आएका थिए । तर, अब भने पानीकै कारण भोग्ने समस्या अन्त्य हुनेमा बाग्लुङ नगरपालिकावासी आशावादी छन् ।