close

१८ अर्ब खर्चेपछि बहुरिँदै छ दोलखा (भिडियाे खबर)

१८ अर्ब खर्चेपछि बहुरिँदै छ दोलखा (भिडियाे खबर)

ADVERTISEMENT

दोलखा- ८७ वर्षअघि नेपालमा भएको त्यो विपद्ले त्यसबखतको सबैभन्दा ठूलो क्षति पुर्‍याएको थियो । सोही क्षतिको आँकलन गर्न सक्ने गरी २०७२ सालमा नेपालमा अर्को भूकम्प गयो । 


त्यतिबेला १९९० सालमा अहिलेको जस्तो धेरै अस्पताल र सुविधा थिएन, उपचार नपाएर पनि धेरैको मृत्यु भयो । राणा शासनकालमा भएको त्यो प्राकृतिक अत्याचार अनि क्षतिको सम्झना स्वरूप हरेक वर्ष २ माघमा ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ मनाइन्छ । तर, यही दिवससँग अहिले १२ वैशाख २०७२ को कहालीलाग्दो दिनलाई पनि स्मरण गरिन्छ ।


भूकम्पले १४ जिल्ला सबैभन्दा बढी प्रभावित भएका थिए । दोलखा जिल्ला प्रभावित हुनेमध्येको एक हो । दोलखाका ५८ हजार ३८८ वटा निजी आवास भत्किएका थिए । सरकारी कार्यालय, सार्वाजनिक भवनबाहेक निजी आवासका लागि हालसम्म १८ अर्ब ५३ करोड १४ लाख ५० हजार रुपैयाँ खर्च भइसकेको छ । 


२०७२ सालको भूकम्पले दोलखामा केके भयो ?


मृत्यु: १६० जना
घाइते: ६०३ जना
क्षति: ४१ अर्ब ७९ करोड ८१ लाख १४ हजार रुपैयाँ
प्रभावितको संख्या: २ लाख ४३ हजार ४११ जना


दोलखामा भएको पुनर्निर्माणको प्रगति विवरण:

 

पुनर्निर्माण लाभग्राही: ७० हजार ८८९ जना
रेट्रोफिटिङ लाभग्राही: २ हजार ६६८ जना
अनुदान सम्झौता: ६७ हजार २३० जनासँग
अनुदान सम्झौता हुन बाँकी संख्या: ३ हजार ३२७ जना


यो प्रगति विवरणअनुसार अनुदान सम्झौता हुन बाँकी ३ हजार ३२७ जनासँग छिट्टै सम्झौता हुने तयारी अघि बढाइएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ । 


कसले पाए किस्ताको रकम ?


पहिलो किस्ता: ६९ हजार ५५१ जना
दोस्रो किस्ता: ६४ हजार ९५ जना
तेस्रो किस्ता: ६१ हजार ७९३ जना

 

यीबाहेक दोलखामा अनुदान फिर्ता गर्ने लाभग्राही १३५ जना छन् । पुनरावेदन दर्ता गर्ने लाभग्राही ४ हजार १७ जना र जोखिम वर्गका लाभग्राही १ हजार १५१ जना छन् ।

 

तर, भूकम्पपीडितले भने राहत पाएका छैनन् । यता, भवन निर्माणपछि सरल र सहज रूपमा पहिलो दोस्रो, तेस्रो किस्ता लिन जनप्रतिधिले सहयोग गरेको भीमेश्वर नगरपालिकाले जनाएको छ । 


स्थानीय तहको सहयोगबाट नै अहिले निजी निवास, सरकारी कार्यालय र पुरातात्त्विक सम्पदाले तीव्रता पाएको छ । 


दोलखामा अझै पनि स्वास्थ्य संस्था, विद्यालय पुनर्निर्माण भइरहेका छन् । स्थानीय सरकार गठन भएसँगै स्थानीय तहका भौतिक संरचनामा पुगेको क्षतिको बारेमा जनप्रतिनिधिले नै चासो राख्दै आएका छन् ।

 

त्यसैले पनि अहिले दोलखामा पुनर्निर्माणले गति लिइरहेको छ । तर, पुनः भूकम्पका कारण यसअघि भएका जस्तै क्षति नहुनेमा पुनर्निर्माणमा खटिएका इन्जिनियर र स्थानीय आशावादी छन् ।

-समाचारमा  १८ अर्ब हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ । -स‌ं.