close

खोटाङमा वढ्यो निर्वाचन चहलपहल, आयोगले थाल्यो तयारी

खोटाङमा वढ्यो निर्वाचन चहलपहल, आयोगले थाल्यो तयारी

Trulli
ADVERTISEMENT

खोटाङ– आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ । आगामी बैशाख १७ र २७ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको पुर्वतयारी स्वरुप निर्वाचन कार्यालयले जिल्लाका १० वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको हो ।

 

निर्वाचनको तयारी स्वरुप जिल्ला निर्वाचन कार्यालयले आइतवार दिक्तेलमा मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत) कार्यक्रम सम्वन्धी अन्तरक्रिया गरेको छ । निर्वाचन आयोगले गत १६ पुसदेखि आगामी २१ फागुनसम्मका लागि तय गरेको निर्वाचन सम्वन्धी कार्यक्रम कार्यान्वयन तालिका भित्र रहेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको जिल्ला निर्वाचन अधिकारी कोपिला राईले बताइन् ।


जिल्लाका १० स्थानीय तहमा आगामी माघ १५ गतेदेखि २१ गतेसम्म र जिल्लामा माघ १५ गतेदेखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचनका लागि अद्यावधिक मतदाता नामावली तयार पारिने निर्वाचन कार्यालयले जनाएको छ ।


जिल्लामा स्थानीय तहको केन्द्रलाई आधार मानेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिने छन् । सो कार्यक्रममार्फत मतदाताले मतदाता नामावलीमा आफ्नो नाम विवरण हेर्न एबं अद्यावधिक गर्न, मतदाता नामावलीमा भएका दोहोरोपन वा त्रुटी हटाउने, मतदाता नामावली ऐनले व्यवस्था गरेका कार्यहरु सम्पन्न गरी हालसम्म संकलित मतदाता नामावलीलाई वैधानिकता प्रदानका कार्य गरिने जानकारी दिइएको छ ।

 

त्रुटी सच्याउने, नाम हटाउने वा दोहोरो नाम हटाउने काम सम्पन्न भएपछि जिल्ला निर्वाचन कार्यालयको सर्भरमा विवरण अद्यावधिक गर्ने, त्यसपछि निर्वाचन आयोगमा डाटा एकीकरण गर्ने, दोहोरो परीक्षण गरी दोहोरिएको डाटा हटाउने र आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गराएर सोको विवरण आयोगको वेबसाइटमा प्रकाशन गरिने जिल्ला निर्वाचन अधिकारी राईले जानकारी दिइन् ।

 

निर्वाचन मिति घोषणा गरिसकेको अवस्थामा सोही निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ताको काम भने नगरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।