close

मतदाता नामावली अद्यावधिकमा जुट्यो निर्वाचन कार्यालय

मतदाता नामावली अद्यावधिकमा जुट्यो निर्वाचन कार्यालय

Trulli
ADVERTISEMENT

खोटाङ– जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ । आगामी ७ र २७ वैशाखलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनको पूर्वतयारीस्वरूप निर्वाचन कार्यालयले जिल्लाका १० वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागेको हो ।


निर्वाचनको तयारीस्वरूप जिल्ला निर्वाचन कार्यालयले आइतबार दिक्तेलमा मतदाता नामावली अद्यावधिक कार्यक्रमसम्बन्धी अन्तत्र्रिmया गरेको छ । निर्वाचन आयोगले गत १६ पुसदेखि आगामी २१ फागुनसम्म तय गरेको निर्वाचनसम्बन्धी कार्यक्रम कार्यान्वयन तालिकाभित्र रहेर मतदाता नामावली अद्यावधिक गरिने जिल्ला निर्वाचन अधिकारी कोपिला राईले बताइन् ।


जिल्लाका १० स्थानीय तहमा आगामी १५ देखि २१ माघसम्म नामावली अद्यावधिक गरेर मतदाताको अन्तिम टुंगो लगाइने निर्वाचन कार्यालयले जनाएको छ ।

 

कार्यालयका अनुसार आगामी १६ र १७ माघमा प्रत्येक स्थानीय तहको केद्रमा आफ्नो नामावली सच्याउने, दोहोरो हटाउने तथा दाबी विरोधका लागि निवेदन दिन सम्पूर्ण मतदातालाई सूचित गराइनेछ ।

 

जिल्लामा स्थानीय तहको केन्द्रलाई आधार मानेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिनेछ । सो कार्यक्रममार्फत मतदाताले मतदाता नामावलीमा आफ्नो नाम विवरण हेर्न एवं अद्यावधिक गर्न, मतदाता नामावलीमा भएका दोहोरोपन वा त्रुटि हटाउने, मतदाता नामावली ऐनले व्यवस्था गरेका कार्य सम्पन्न गरी हालसम्म संकलित मतदाता नामावलीलाई वैधानिकता प्रदान गरिनेछ ।

 

त्रुटि सच्याउने, नाम हटाउने वा दोहोरो नाम हटाउने काम सम्पन्न भएपछि जिल्ला निर्वाचन कार्यालयको सर्भरमा विवरण अद्यावधिक गर्ने, त्यसपछि निर्वाचन आयोगमा डाटा एकीकरण गर्ने, दोहोरो परीक्षण गरी दोहोरिएको डाटा हटाउने र आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गराएर सोको विवरण आयोगको वेबसाइटमा प्रकाशन गरिने जिल्ला निर्वाचन अधिकारी राईले जानकारी दिईन् ।


आगामी १७ र २७ वैशाखमा तोकिएको निर्वाचनमा गत ५ पुससम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले मात्र मतदानमा सहभागी हुन पाउनेछन् ।


मिति घोषणा गरिसकेको अवस्थामा सोही निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ताको काम भने नगरिने जिल्ला निर्वाचन कार्यालयले बताएको छ ।


स्थानीय तहमा आगामी १८ देखि २० माघसम्म सम्बन्धित स्थानीय तहभित्रै नाम दोहोरो परेका मतदाताको विषयमा जाँचबुझ गरी निर्णय गर्ने, बसाइँ सरेका र मृत्यु भएका मतदाताको सम्बन्धमा जाँचबुझ गरी निर्णय गर्ने, नागरिकता त्यागेका वा रद्ध भएका मतदाताको नाम हटाउनेलगायतका काम गरिनेछ ।


कार्यालयले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउन राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, सञ्चारकर्मी सबैलाई प्रचार–प्रसारका लागि सहयोग गर्न आग्रह गरेको छ ।