close

नयाँ घरमा मुस्कुराएका अनुहार (भिडियो खबर)

नयाँ घरमा मुस्कुराएका अनुहार (भिडियो खबर)

ADVERTISEMENT

म्याग्दी–जनप्रतिनिधिले इच्छाशक्ति र सक्रियता देखाउनुका साथै समुदायले साथ दिए भने समाजमा विकासले गति लिने र सामाजिक परिवर्तन आउने उदाहरण म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर ६ मा देखिएको छ । वडा नम्बर ६ का जनप्रतिनिधि र समुदायको पहलमा सुकुम्बासीलाई आवासको व्यवस्थापन भएको छ ।


६२ वर्षअघि रघुगंगा गाउँपालिकाको पिप्लेबाट दोस्रो विवाह गरेकी आमासँगै अर्थुंगे आएका तुलबहादुर भण्डारी अर्काको जग्गामा टहरा बनाएर बस्दै आएका थिए । भण्डारीकी आमाले अर्को बुबातर्फबाट जन्माएका भाइले टहरा बनाउन जग्गा दिए पनि लालपुर्जा दिएका थिएनन् ।

 

उभिँदा टाउको ठोक्किने, व्यवस्थित शौचालय, पिँढी नभएको, साँघुरो र चुहिने अवस्थाको थियो । साँघुरो र जीर्ण घरमा बस्दा दुःख पाएकामा माघे संक्रान्तिका दिन नयाँ घरमा बस्न थालेको बेनी नगरपालिका वडा नम्बर ६ सुकुम्बासी तुलबहादुर भण्डारी बताउँछन् ।


वडाका जनप्रतिनिधि र स्थानीय अगुवाको पहलमा जग्गा व्यवस्थापन तथा आर्थिक स्रोत जुटाएर सुकम्वासी भण्डारीको दुई कोठे घर निर्माण गरिएको छ । स्वदेश तथा विदेशमा रहेकाबाट २ लाख ५९ हजार ५ सय ५३ सहयोग संकलन भएकामा २ लाख १६ हजार ७५ खर्च भएको छ । बचत भएको ४३ हजार ४ सय ७८ ले शौचालय निर्माण गर्ने तयारी सुरु भएको वडा नम्बर ६ का वसन्त बानियाँ सुनाउँछन् ।

 

भण्डारीको घर बनेको करिब ४ आना जग्गा सम्याउन अर्थुंगे युनाइटेड क्लबका युवाले दुई दिन श्रमदान गरेका थिए । घर बनाउन बेनी नगरपालिकाले जस्तापाता उपलब्ध गराएको थियो ।

 

स्थानीय अगुवा, सामुदायिक वन र वडाका जनप्रतिनिधिले जग्गा व्यवस्थापन गरेर बेनी नगरपालिका वडा नम्बर ६ मा यसअघि २ सुकुम्वासी परिवारलाई घर निर्माण गरेर हस्तान्तरण गरिसकिएको वडा नम्बर ६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले जानकारी दिए ।