close

चुनावको तयारीमा जुट्यो दार्चुला 

चुनावको तयारीमा जुट्यो दार्चुला 

Trulli
ADVERTISEMENT

दार्चुला- जिल्ला निर्वाचन कार्यालय दार्चुलामा मतदाता नामावली अद्यावधिकसम्बन्धी जिल्लास्तरीय समन्वय समिति गठन गरिएको छ । 

 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल अध्यक्ष रहने गरी ५ सदस्यीय मतादाता अद्यावधिकसम्बन्धी जिल्ला स्तरीय समन्वय समिति गठन भएको हो ।


जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार समितिले मतदाता नामावली रुजु गरी अद्यावधिक गर्ने तथा मतदाता नामावलीको अभिलेख सुरक्षित राख्न सघाउनेछ ।


यस्तै, निर्वाचन सामग्रीको भण्डारण तथा मर्मतसम्भारको व्यवस्था गर्ने र जुनसुकै समय प्रयोग हुन सक्ने व्यवस्था गरी सुरक्षित रूपमा राख्ने काम समितिको हुनेछ ।

 

निर्वाचनका लागि आवश्यक पर्ने सामग्री यकिन गरी समयमै आपूर्ति हुने व्यवस्था गरिने सूचना अधिकारी जोशी बताउँछन् । 


जिल्ला निर्वाचन कार्यालयले प्रमुख जिल्ला अधिकारी पोखरेल संयोजक रहेको समितिमा जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख सदस्य तथा निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकृत सदस्यसचिव रहने व्यवस्था छ ।


सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति घोषणा गरेपछिको विवाद सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहे पनि आयोगले निर्वाचन तयारी थालेको हो ।

 

जिल्लामा मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगले पत्राचार गरेपछि तयारी थालिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी जोशी बताउँछन् ।

 

सरकारले घोषणा गरेको मितिलाई आधार बनाएर निर्वाचनको तयारी गरिएको उनले बताए । यसअघि २०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि दार्चुलामा १ सय १० मतदानस्थल तथा १ सय २९ मतदान केन्द्र तोकिएका थिए ।

 

मतदानस्थल र मतदान केन्द्र थपघट गर्नुपर्ने नपर्ने बारे राजनीतिक दलसँग छलफल भइसकेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । उनले भने, ‘हामीले निर्वाचनसम्बन्धी गतिविधि र तयारी सुरु गरेका छौँ ।’

 

१५ देखि २४ माघसम्म मतदाता नामावली दाबी विरोधको कार्यक्रम रहेको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । दाबी विरोधको कार्यक्रम ९ वटै स्थानीय तहका केन्द्रमा सञ्चालन हुनेछ । 


सोही कार्यक्रमबाट जिल्लामा कति मतदाता छन् भन्ने एकिन हुनेछ । निर्वाचन कार्यालयका अनुसार दार्चुलामा ७८ हजार ५ सय १३ जना मतदाता छन् ।

 

गत ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर आउँदो १७ र २७ वैशाखका लागि निर्वाचनको घोषणा गरेका थिए ।