close

जन्तेढुंगाका वृद्ध बाआमालाई घरमै स्वास्थ्य परामर्श  

जन्तेढुंगाका वृद्ध बाआमालाई घरमै स्वास्थ्य परामर्श  

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको जन्तेढुंगा गाउँपालिकामा ज्येष्ठ नागरिकलाई घर-घरमै स्वास्थ्य परामर्श दिन सुरु गरिएको छ । वृद्ध उमेरका कारण स्वास्थ्य संस्थासम्म जान नसक्ने ज्येष्ठ नागरिकलाई एचए, अहेब र अनमीमार्फत घरैमा पुगेर स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन थालिएको हो । 


गाउँपालिकाको वडा नम्बर ४ डम्बर्खुशिवालयबाट ज्येष्ठ नागरिकलाई स्वास्थ्य परामर्श दिने अभियान सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए । ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै स्वास्थ्य समस्यबारे जानकारी लिएर आवश्यक परामर्श प्रदान गर्ने व्यवस्थाका लागि सो कार्यक्रम सुरु गरिएको हो ।


ज्येष्ठ नागरिकलाई स्वास्थ्य परामर्श प्रदान गर्न सम्बन्धित वडा कार्यालयमार्फत स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा संयोजक पोखरेलले बताए । कार्यक्रमलाई क्रमशः अन्य ५ वटै वडामा विस्तार गर्ने गाउँपालिकाको योजना छ ।


यस्तै, गाउँपालिकाभित्रका दीर्घ रोगीलाई निःशुल्क औषधी उपलब्ध गराउन उनीहरूको तथ्यांक संकलनको काम भइरहेको पोखरेलले जानकारी दिए ।


यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर १४ बुइपाका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ सुरु गरिएको छ ।

 

७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई घर–घरमै औषधोपचारको व्यवस्था गर्ने प्रयासस्वरूप वडा कार्यालय र स्वास्थ्य चौकी बुइपाले गत २६ मंसिर देखि ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ सुरु गरेको हो ।


नगरपालिका तथा वडाको कुनै पनि योजना तथा कार्यक्रमले प्रत्यक्ष रूपमा नछोएका ज्येष्ठ नागरिकलाई राहत दिने गरी यस्तो कार्यक्रम सुरु गरिएको बुइपाका वडाध्यक्ष दिनेश राईले बताए ।


वडाभित्रका ज्येष्ठ नागरिकलाई हरेक २ महिनामा घरैमा पुगेर स्वास्थ्य परीक्षण गर्ने र आवश्यक औषधी निःशुल्क उपलब्ध गराउने गरी कार्यक्रम’ सुरु गरिएको हो ।


७० वर्ष पुगेका ३ सय ८ जना ज्येष्ठ नागरिकको व्यक्तिगत विवरण तयार पारेर कार्यक्रम सुरु गरिएको बुइपा स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले बताए ।