close

झापामा मतदान स्थल र केन्द्र अनुगमन सुरु

झापामा मतदान स्थल र केन्द्र अनुगमन सुरु

Trulli
ADVERTISEMENT

झापा- आउँदो १७ र २७ वैशाखका लागि तय भएको संघीय निर्वाचनको तयारीस्वरूप झापामा मतदान स्थल र केन्द्र अनुगमन सुरु भएको छ । 


जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले मतदान स्थल र केन्द्रको सहजतालगायत विषयका लागि अनुगमन सुरु गरेको समिति संयोजक तथा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।

 

गत २८ पुसको समितिको बैठकले झापाका केही पालिकामा समस्या रहेको विषय उठान गरेपछि तिनको अनुगमन गरिएको प्रजिअ तिम्सिनाले बताए । 

 

‘समितिले बिर्तामोड, अर्जुनधारा, दमक र शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका र बाह्रदशी गाउँपालिकाका मतदान स्थल र केन्द्र अनुगमन गरिसकेको छ’, उनले भने ।

 

बाँकी स्थानीय तहको अनुगमन गर्नुपर्ने नदेखिएको उनको भनाइ छ । 

 

समितिमा राजनीतिक दलका प्रमुख, सुरक्षा निकाय प्रमुख, निर्वाचन अधिकारी र पालिकाका प्रमुख रहेका छन् । 


यसबाहेक भद्रपुर नगरपालिकामा मेची खोलापारिसमेत बस्ती रहेको तर मतदान स्थल नभएकाले त्यस विषयमा छलफल भएको प्रजिअ तिम्सिनाले बताए ।

 

सीमा नाकाबाट १ किलोेमिटरभित्र मतदान स्थल हुनुपर्ने तथा मतदाताको संख्या ५ सय हुनुपर्ने भएकाले त्यस विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए ।


यसअघिको निर्वाचनमा झापामा २ सय ८३ मतदान स्थल र ६ सय ९२ मतदान केन्द्र रहेकामा यसपालि केही थप हुने उनको भनाइ छ ।

 

पालिकाभित्रका एउटै वडामा पनि बीचमा खोलाले काटेका ठाउँमा मतदानका लागि नागरिकलाई अप्ठेरो हुने देखिएकाले मतदान स्थल थप्नुपर्ने विषयमा छलफल भएको छ ।


विगतमा एउटै मतदान स्थलमा ८ वटासम्म मतदान केन्द्र हुने गरे पनि यस पटक ७ वटाभन्दा बढी राख्न नमिल्ने प्रजिअ तिम्सिनाले जानकारी दिए ।

 

‘मतदान स्थल, केन्द्र थपका लागि राजनीतिक दल र स्थानीय तहसँग छलफलसमेत भइरहेको छ’, प्रजिअ तिम्सिनाले भने ।


यसअघिको निर्वाचनमा झापामा ५ लाख ८५ हजार २ सय ३६ मतदाता रहेकामा ५ पुससम्म ६ लाख १३ हजार ३ सय १२ जना पुगेका छन् ।