close

स्वास्थ्य चौकी भवन निर्माण स्थल विवाद : वडा कार्यालयमा लाग्यो ताला

स्वास्थ्य चौकी भवन निर्माण स्थल विवाद : वडा कार्यालयमा लाग्यो ताला

Trulli
ADVERTISEMENT

दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिकाको प्रशासकीय भवन निर्माण स्थलको विवादले तालाबन्दी भइरहेका बेला सोही पालिकाको वडा नम्बर १ को वडा कार्यालयमा समेत तालाबन्दी गरिएको छ । 

 

मालिकार्जुन गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका हुन् । 


पायक पर्ने स्थानभन्दा फरक ठाउँमा स्वास्थ्य चौकी भवन बनाउने निर्णयको भएको भन्दै स्थानीयले विरोधमा वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

 

स्वास्थ्य मन्त्रालयले सामुदायिक स्वास्थ्य इकाइलाई स्वास्थ्य चौकीमा स्तरोन्नतिका लागि वडा कार्यालयमा २२ लाख रुपैयाँ बजेट पठाएको छ । 

 

गाउँबासीलाई जानकारी नै नदिई वडाध्यक्ष गौरसिंह बोहराले अपायक ठाउँमा स्वास्थ्य चौकी निर्माण गर्न लागेकाले विरोधमा वडा कार्यालयमा तालाबन्दी गर्नु परेको स्थानीय गोपालसिंह धामीले बताए ।

 

‘अहिले स्वास्थ्य चौकी बनाउन निर्णय भएको जमिन भर्तोला खोलाको किनारमा रहेकाले असुरक्षित ठाउँ हो’, धामीले भने ।


छलफलपछि मात्रै स्वास्थ्य चौकी बनाउने ठाउँको टुंगो लगाउन आग्रह गरिए पनि वडाध्यक्षले मनोमानी गरेपछि विरोधमा उत्रनु परेको धामी सुनाउँछन् ।

 

मालिकार्जुन गाउँकार्यपालिकाको गत २२ पुसमा बसेको बैठकले वडा नम्बर १ को स्वास्थ्य चौकी भवन फड्के क्षेत्रमा बनाउने निर्णय गरेको थियो ।

 

सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माणका लागि यसअघि वडाको कपडागाडा, आलाधार क्षेत्रमा स्वास्थ्य चौकी बनाउने निर्णय भए पनि विवाद भएको थियो ।

 

विवाद कायमै रहेकाले यो विषयलाई गाउँपालिकाको न्यायिक समिति हँुदै कार्यपालिकाको बैठकबाट निर्णयमा पु¥याएको वडाध्यक्ष गौरसिंह बोहराले जानकारी दिए ।

 

‘अहिले २२ पुसमा बसेको गाउँ कार्यपालिका बैठकले नै स्वास्थ्य चौकी भवन बनाउने स्थलको टुंगो लगाएको हो’, उनले भने, ‘सबैलाई पायक पर्ने ठाउँ नै खोजिएको हो ।’


फड्के क्षेत्रमा स्वास्थ्य चौकी भवन बनाउने निर्णण गरेपछि वडा नम्बर १ डुङरी ठाडिधार, सुत्तने क्षेत्रका स्थानीयले विरोध जनाउँदै वडा कर्यालयमा तालाबन्दी गरेका हुन् ।

 

वडा कार्यालयमा तालाबन्दी गरिएपछि त्यहाँबाट दिइने सबै सेवा प्रवाह ठप्प भएको छ ।