close

वडाध्यक्षको उत्कृष्ट काम : यसरी बन्दै छ विकास ग्राम (भिडियो खबर)

वडाध्यक्षको उत्कृष्ट काम : यसरी बन्दै छ विकास ग्राम (भिडियो खबर)

ADVERTISEMENT

महोत्तरी- स्थानीय तह निर्वाचन भएको ३ वर्ष पूरा भइसकेको छ । ३ वर्षमा कतिपय स्थानीय तहले अझै चुनावी घोषणापत्रअनुसार काम नभएको बताइरहेका छन् ।

 

भ्रष्टाचार, सामाजिक विकृतिजस्ता समस्याले जनप्रतिनिधिको कार्यक्षमता र चरित्रमाथि नै प्रश्न उठिरहेको छ । तर, केहीले भने उत्कृष्ट काम गर्दै आएका छन् भने उनीहरूको कामबाट स्थानीय प्रभावित भएका छन् ।

 

यस्तै, उत्कृष्ट काम र नतिजाले बर्दिबास नगरका स्थानीयकै खुसी छन् । बर्दिवास नगरपालिका वडा नम्बर ३ का स्थानीय वडाध्यक्षको कामबाट सन्तुष्ट बनेका हुन् ।

 

वडा नम्बर ३ मा तत्कालीन माओवादीबाट विजयी वडाध्यक्ष राजन ढुंगानाको कार्यकुशलतालाई लिएर सर्वसाधारणले चर्चा गर्न थालेका छन् ।

 

कारण हो, विकास । लामो समयपछि विकासको अनुभूति गर्न पाउँदा स्थानीय दंग छन् । समानुपातिक र सन्तुलित विकासलाई जोड दिएका वडाध्यक्षले भौतिक पूर्वाधारको विकासदेखि सामाजिक, सांस्कृतिक विकासमा पनि उत्तिकै जिम्मेवारी निर्वाह गर्दै आएका छन् । 


बर्दिवास नगरपालिकामा बीपी राजमार्ग जोड्ने गौरीडाँडाको सडक कालोपत्रे भइरहेको छ भने कतै सडक ढलान गरिएको छ । त्यस्तै, वडा नम्बर ३ बाट बीपी राजमार्ग जोडिने शाखा सडकको पनि निर्माण सम्पन्न भएको छ  । 

 

यीबाहेक कालापानी, पर्साइधाप, रजाबास, भप्सीलगायत ठाउँमा स्थायी शाखा सडकको उल्लेख्य विकास भएको छ । कृषि क्षेत्रमा  खासै विकास नभए पनि हालै सिँचाइ सुविधाका लागि ९० लाख रुपैयाँको योजना धमाधम अघि बढेको छ ।


वडा नम्बर ३ मा भइरहेको विकासबाट अन्य वडाले समेत सिक्नुपर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद फुयाल बताउँछन् । 


महोत्तरीका कतिपय स्थानीय तहमा जनता आवासले कैयौँ सर्वसाधारणलाई ११ महिना बितिसक्दा घरविहीन बनाइदिएको छ  । तर, वडा नम्बर ३  मा वडाध्यक्षको जिम्मामा बनेका १५ वटा घर पूर्ण रूपमा बनिसकेकाले स्थानीय दंग भएका हुन् ।

 

तर, हाल स्थानीय तहमा भइरहेका विकास निर्माणप्रति वडाध्यक्ष भने स्वयं सन्तुष्ट छैनन् । पूर्वाधार विकासलाई मात्रै विकास मान्नु गलत भएको भन्दै वडाध्यक्ष ढुंगाना स्थानीयले सामाजिक चेतनामा आएको परिवर्तनलाई पनि विकास मान्नुपर्ने सुझाउँछन् । 


हरेक व्यक्तिको पहिचान उसको कामले हुन्छ । बर्दिवास नगरपालिकाको वडा नम्बर ३ का अध्यक्षलाई यति धेरै महत्त्व नागरिक स्तरबाट दिनुको मुख्य कारण भनेकै उनले गरेको काम हो ।