close

तिलोत्तमाका युवालाई बिनाधितो कर्जा 

तिलोत्तमाका युवालाई बिनाधितो कर्जा 

Trulli
ADVERTISEMENT

रुपन्देही -  तिलोत्तमा नगरपालिकाले युवाहरुलाई उत्पादनसँग जोडी स्वरोजगार बनाउन बिनाधितोमा सहुलियतपूर्ण कर्जा दिन सुरु गरेको छ । 

 

स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति बढीमा ४ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्न थालेको हो । पहिलो चरणमा २ करोड रुपैयाँ कर्जा प्रवाह गर्ने गरी नगरपालिकाले युवाहरुसँग गत वैशाख २४ मा उद्यम प्रस्ताव आह्वान गरेको थियो । प्रस्ताव पेस गरेका झन्डै ७ सयमध्ये पहिलो चरणमा छनोट भएका ८७ जनालाई कर्जा दिन थालिएको हो । 

 

नगरप्रमुख वासुदेव घिमिरेले  १५ जना लाभग्राहीलाई कर्जा प्रस्तावपत्र हस्तान्तरण गरी सहुलियत कर्जा वितरण सुरु गरे ।त्यस अवसरमा नगर प्रमुख घिमिरेले कर्जाको सदुपयोग गरी दिगो रुपमा व्यवसाय गर्न लाभग्राहीलाई आग्रह गरे । नगरपालिकाले आगामी दिनमा सहुलियत कर्जा वितरणलाई विस्तार गर्दै जाने जानकारी उनले दिए । धितो राख्न नसक्ने निम्न आय भएकाहरुलाई लक्षित गरी यो कार्यक्रम सुरु गरिएको घिमिरले बताए ।

 

कोरोना महामारीको कारण रोजगारीका अवसर संकुचित भइरहँदा नगरपालिकाले गत वैशाख २४ मा सहुलियतपूर्ण कर्जाको लागि प्रस्ताव आह्वान गरेको थियो । प्रस्ताव पेस गरेकाहरुमध्ये नगरपालिका र बैंकका प्रतिनिधि सहभागी छनोट समितिले कर्जाका लागि नाम सिफारिस गरेअनुरुप कर्जा वितरण थालिएको नेपाल बैंक लिमिटेड प्रदेश ५ का प्रमुख पासाङ दोर्जे शेर्पाले जानकारी दिए ।

 

उनका अनुसार तिलोत्तमामा चालू आर्थिक वर्षमा नगरपालिकासँगको सहकार्यमा थप ८ करोड सहुलियत कर्जा प्रवाह गर्ने योजना छ । नगरपालिकाले गत वर्ष आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा नेपाल बैंकसँग सहुलियतपूर्ण कर्जाका लागि सम्झौता गरेको थियो । सोही सम्झौताअनुसार नगरपालिकाले बैंकको रिजर्भ कोषमा कर्जा प्रवाहका लागि रकम जम्मा गरेपछि बैंकले सहुलियत कर्जा दिएको हो । 


विदेशबाट फर्किएका बेरोजगार युवाहरुलाई लक्षित गरी सानोतिनो रकमबाट केही काम गर्न चाहनेहरु यो कर्जाबाट लाभान्वित हुने नगरपालिकाको विश्वास छ । हालका लागि कर्जाको ब्याजदर पुरुषको हकमा वार्षिक ३ दशमलव ९९ प्रतिशत, महिलाको हकमा वार्षिक २ दशमलव ९९ प्रतिशत छ ।


 
कर्जा प्राप्त गर्ने युवा १८ देखि ५० वर्ष उमेर समूहको हुनुपर्ने र कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएको हुनुपर्ने नगरपालिकाले जनाएको छ । महिला, दलित, पछाडि पारिएको वर्ग–समुदाय, वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई कर्जामा प्राथमिकता दिइएको उप-प्रमुख जगेश्वरदेवी चौधरीले बताइन् ।