close

आठबिसकोट झडप : ३ वटा वडाका वडाध्यक्षबीचमै मारमुंग्री

आठबिसकोट झडप : ३ वटा वडाका वडाध्यक्षबीचमै मारमुंग्री

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम- रुकुम पश्चिमको आठबिसकोट नगरपालिका तनावग्रस्त बनेको छ । २ राजनीतिक दलका कार्यकर्ताबीचको विवाद समाधानका लागि प्रहरी कार्यालयमा भइरहेको छलफलका क्रममा ३ जना वडाध्यक्षसमेत कुटिएका छन् ।

 

आठबीसकोट नगरपालिका वडा नम्बर ३, ८ र ९ का वडाध्यक्ष फरक-फरक पार्टीका कार्यकर्ताबाट कुटिएका हुन् । स्थिति नियन्त्रणमा लिन ९ राउन्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ । 

 

आठबीसकोटमा नेकपा प्रचण्ड-नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको विवाद मिलाउन इलाका प्रहरी कार्यालयमा भइरहेको छलफलमा वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाहीमाथि कुटपिट भएको थियो ।

 

उनलाई वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विक र वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चनाराले प्रहरीकै अगाडि कुटेको छलफलमा सहभागी कांग्रेसका नगर सभापति कमल शाहले बताए ।

 

शाही कांग्रेस, केशरमान र मानबहादुर नेकपा निकट हुन् । वडाध्यक्ष शाहीमाथि आक्रमण भएपछि कांग्रेस समर्थित कार्यकर्ताले वडाअध्यक्षद्वय केशरमान र मानबहादुरलाई समेत आक्रमण गरेको जनाइएको छ । 

 

प्रहरी कार्यालयमै २ राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले ९ राउन्ड हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

 

जिल्ला सदरमुकाबाट प्रहरी निरीक्षक कपिल शाहीको नेतृत्वमा थप प्रहरी पठाइएपछि अहिले स्थिति नियन्त्रणमा आएको छ ।

 

झडपमा १ जना प्रहरी सहायक निरीक्षक, सशस्त्र प्रहरीका १ जवानसहित दुवैतर्फका केही कार्यकर्ता घाइते भएका छन् । घाइतेको स्वास्थ्यकर्मीले प्रहरी कार्यालयमै उपचार गराइरहेका छन् । घाइतेको पूरा विवरण आउन बाँकी छ ।

 

प्रहरीले वडाअध्यक्षद्वय केशरमान र मानबहादुरलाई नियन्त्रणमा लिएको बताइएको छ । विवाद सहमति नजिक पुगेका बेला एक पक्ष भड्किएर झडपको अवस्था आएको डीएसपी श्रेष्ठले जानकारी दिए । 

 

विवाद सोमबार बेलुकादेखि नै सुरु भएको थियो । स्थिति पूर्ण रूपमा नियन्त्रणमा आउनेबित्तिकै दोषीमाथि कारबाही गरिने उनले बताए ।  आठबीसकोटमा खानेपानी, बस काउन्टरलगायत विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच पटक-पटक विवाद र झडप हुँदै आएको छ ।