close

सैनामैनामा किसान लक्षित पाठशाला 

सैनामैनामा किसान लक्षित पाठशाला 

Trulli
ADVERTISEMENT

रूपन्देही- रुपन्देहीको सैनामैना नगरपालिकामा कृषि उत्पादनमा वृद्धि गर्न र कृषिलाई उत्पादनमुखी र आयमूलक बनाउने उद्देश्यले कृषि पाठशाला सञ्चालन गरिएको छ । 

 

पाठशालामा शत्रुजीवको व्यवस्थापन र मित्रजीवको संरक्षण कसरी गर्ने, उत्पादनमा आउने परिवर्तन, लाभहानिलगायत विषयमा कृषकलाई प्रयोगात्मक रूपमै जानकारी गराइनेछ ।

 

खेतबारीमा रासायनिक मलको प्रयोग अत्यधिक बढिरहेको अवस्थामा त्यसलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने रणनीतिबारे पनि पाठशालामा सहभागी किसानलाई जानकारी दिइनेछ ।

 

वडा नम्बर १ मा सुरु भएको एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) कृषक पाठशालाअन्तर्गत सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा नगरका ११ वटै वडामा कृषि पाठशाला सञ्चालन गर्ने योजनाअनुसार दोस्रो चरणको पाठशाला सुरु गरिएको हो । 


कृषक पाठशालाको उद्घाटन गर्दै सैनामैना नगरप्रमुख चित्रबहादुर कार्कीले यो कार्यक्रमले कृषकको सिकाइमा टेवा पुग्ने बताए । उनले भने, ‘यस आर्थिक वर्षमा नगरका सबै वडामा सञ्चालन गर्ने गरी बजेट विनियोजन गरेका छौँ । जग्गा एकीकृत गरेर नमुना कृषि फार्म बनाउने नगरपालिकाको योजना छ ।’


किसानको उत्पादनलाई बिचौलियाबिनै बजारीकरण गर्न पहल भइरहेको उनले जानकारी दिए । नगरप्रमुख कार्कीले भने, ‘वस्तु उत्पादन गरेपछि गुणस्तर मापन गरेर बिक्री गर्न सके मात्र कृषकको जीवनस्तर उकासिनेछ । त्यसका लागि नगरपालिकाको सहयोग रहन्छ ।’


कार्यक्रममा वर्डा नम्बर १ का वडाध्यक्ष केयरसिंह गलामीले कृषक पाठशालाबाट कृषि उत्पादन र बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कृषि पाठशालामार्फत कृषकको क्षमता अभिवृद्धि गर्न सहज भएको नगरपालिकाको कृषि शाखा प्रमुख सिर्जना खनाल सुवेदीले बताइन् ।