close

सिदिङ्वाको दिवा खाजा : स्थानीय उत्पादनको प्रयोग अनिवार्य

सिदिङ्वाको दिवा खाजा : स्थानीय उत्पादनको प्रयोग अनिवार्य

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले विद्यार्थीको दिवा खाजाका लागि स्थानीय स्तरका उत्पादनको सामग्री प्रयोगलाई अनिवार्य गरेको छ ।

 

गाउँपालिकाले दिवा खाजामा हुनुपर्ने आवश्यक पौस्टिक तत्त्व, स्वच्छता र पोषक तत्त्वको सुनिश्चितता हुनुपर्ने मापदण्ड तयार पारेको छ ।

 

पालिकाभित्रका ७ वटै वडामार्फत सम्बन्धित बिद्यालयमा परिपत्र गर्दै सिदिङ्वाले दिवा खाजा तयार गर्न अभिभावक र आमा समूहको संयन्त्र विकास गर्न आग्रह गरेको छ ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूका अनुसार स्थानीय उत्पादनका सामग्रीको प्रयोग, स्वच्छता र पोषकतत्त्वको सुनिश्चितता हुने गरी दिवा खाजाको तयारी तथा व्यवस्थापनमा अभिभावक, आमा समूह संयन्त्रको आवश्यकता देखिएको हो ।

 

‘यस्तो संयन्त्रको विकास हुन नसक्ने अवस्थामा तोकिएका मापदण्डबमोजिम पोषकतत्त्व हुने गरी स्थानीय उत्पादनकै सामग्री प्रयोगबाट घरमै बनाएको खाजालाई मान्यता दिन सकिने गाउँपालिकाले तयारी छ’, उनले भने ।

 

खाजाको गुणस्तर, स्थानीय स्तरमा उत्पादित सामग्री प्रयोग भए-नभएको परीक्षण र आवश्य पोषकतत्त्व भए÷नभएको अवस्थाको मूल्यांकन भने सम्बन्धित विद्यालय प्रशासनले गर्नुपर्नेछ ।

 

गाउँपालिकाले कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने पालिकाभरिका विद्यार्थीलाई दैनिक १५ रुपैयाँका दरले खाजा रकम उपलब्ध गराउने गरी चालू आर्थिक वर्षको बजेटमार्फत योजना बनाएको छ ।

 

सम्बन्धित विद्यालयले दिवा खाजाको व्यवस्थापन प्रक्रिया र मापदण्ड सुनिश्चितासहितको पत्र १२ माघभित्र गाउँ कार्यपालिकामा पठाइसक्नसमेत पालिका प्रशासनले वडा कार्यालयमार्फत पालिकाभरिका सबै विद्यालयमा जानकारी गराएको छ ।

 

सबै मापदण्ड पूरा गरेका विद्यालयका विद्यार्थीको नामथर, जन्ममिति र कक्षासहितको विवरण विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सम्बन्धित विद्यालयका प्रधानाध्यापकले प्रमाणित गरी गाउँपालिकामा पठाउनुपर्नेछ । त्यसपछिमत्र विद्यालयलाई यो रकम गाउँपालिकाले निकासा दिनेछ ।