close

नागरिकको जग्गा मिचेर नगरपालिकाकाे जग्गा प्लटिङ

नागरिकको जग्गा मिचेर नगरपालिकाकाे जग्गा प्लटिङ

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनाविरुद्ध स्थानीयले विरोध जनाएका छन् ।

 

नगरपालिकाले किसानको सम्पत्ति तथा सांस्कृतिक, पौराणिक सम्पदामा असर पर्ने गरी मनोमानी रूपमा आयोजना सञ्चालन गर्न लागेको भन्दै नगरबासीले विरोध जनाएका हुन् । 

 

स्थानीयले नगरपालिकाको निर्णयविरुद्ध व्यासीमा संघर्ष समितिसमेत गठन गरेका छन् । उनीहरूले आन्दोलनमा उत्रिन आयोजनाभित्र जग्गा परेका सबैलाई आग्रह गरेका छन् ।

 
आयोजनालाई काठमाडौं उपत्यका विकास प्राधिकरणको गत २५ फागुन २०७२ मा बसेको १३औँ बैठकबाट काठमाडौं उपत्यका विकास प्राधिकरण नियमावली, २०६८ को नियम १५(१) अनुसार सञ्चालन गर्न भक्तपुर नगरपालिकालाई स्वीकृति दिइएको नगरपालिकाले जनाएको छ ।

 

आयोजनाका अध्यक्ष सञ्चज्ञान याकामीका अनुसार नयाँ प्लटिङका लागि नक्सा निकालेपछि त्यसको विरोध गर्न संघर्ष समिति गठन गरिएको हो । संघर्ष समितिले १७ बुँदे मागपत्र आयोजनालाई बुझाएको छ । उनले नयाँ नक्सा तथा नीति-नियमको विवरण माग गरिएको बताए ।

 

पीडित संघर्ष समितिका सल्लाहकार इन्जिनियर गोपालकृष्ण याकामीले नियमै प्रकाशित नगरी नक्सा निकालेको आरोप लगाए । नगरपालिकाले मनोमानी ढंगबाट अनावश्यक जमिनसमेत काटेर बाटो बनाएको र जग्गा प्लटिङको अघि बढाएको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । 

 

देको, मिवा, इतापाके जग्गा एकीकरण आयोजना पीडित संघर्ष समितिले आयोजनाले निकालेको नयाँ नक्साप्रति आपत्ति जनाएको छ । नयाँ प्लटिङका लागि नक्सा निकालेपछि त्यसको विरोध गर्न संघर्ष समिति गठन गरिएको अध्यक्ष सञ्चज्ञान याकामीले बताए । 

 

याकामी २०२१ सालको नक्साअनुसार खोला फराकिलो हुुुनुपर्ने, यथास्थानमै जग्गा वितरण गर्नुपर्ने बताउँछन् । 


जग्गा एकीकरण आयोजनामा १६ सय ५४ दशमलव ६ रोपनी समेटिएको छ । समेटिएको जग्गामध्ये उत्तरमा खासंखुस्सु खोला, दक्षिणमा नगरकोट सडक खण्ड, पूर्वमा सल्लाघारी चोकबाट पुरानो थिमि जाने निकोसेरा पुल र पश्चिममा देकोचोकदेखि बंको जाने पुलसम्मको बाटो रहेको छ । 

 

‘हामी विकास विरोधी होइनौँ । विकास भएको हेर्न चाहन्छौँ’, संघर्ष समितिका अध्यक्ष याकामीले भने, ‘भक्तपुर विकास भए हामीलाई नै फाइदा हुने हो तर सही रूपमा हुनुपर्छ ।’

 

नगरपालिकाअन्तर्गतको देको, मिबा, इतापाके जग्गा एकीकरण आयोजना समितिका अध्यक्ष ओमहरि थाले १० पुसमा नयाँ नक्सा प्रकाशनसम्बन्धी सूचना निकालिएको बताए । 

 

नयाँ नक्सा निकालेपछि अहिलेसम्म ३ सय ३७ जनाले लिखित सुझाव दिएको उनले जानकारी दिए । यसअघि १७ पुस २०७६ मा क, ख, ग, गरी ३ वर्गका नक्सा प्रकाशित गरिएको थियो । त्यतिबेला पनि स्थानीयले विरोध गरेका थिए । 

 

नगरपालिकाले यसअघि लिवाली जग्गाा एकीकरण, कमलविनायक जग्गा एकीकरणलगायतका ३ वटा जग्गा एकीकरण गरिसकेको छ । यो नगरको चौथो आयोजना हो ।