close

कृषिमा युवाको लोभलाग्दो आर्कषण (भिडियाे खबर)

कृषिमा युवाको लोभलाग्दो आर्कषण (भिडियाे खबर)

ADVERTISEMENT

इलाम- चिया खेतीले समृद्ध इलाममा अन्य कृषि उपज उत्पादन पनि बढ्न थालेको छ । जिल्लामा कृषि उपज उत्पादन बढेकाले किसानको आम्दानीसँगै निर्यातसमेत वृद्धि भएको छ ।

 

कृषि उपज निर्यातबाट ४ अर्ब ४० करोड ७२ लाख ५० हजार रुपैयाँ आम्दानी भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । उत्पादित कृषि उपज जिल्लामै खपतपछि ८ हजार १ सय २२ मेट्रिक टन निर्यात भएको छ ।

 

कृषि उपज उत्पादन बढेसँगै जिल्लामा कृषि कर्म व्यावसायिक बन्दै गएको छ । रोजगारीको वैकल्पिक माध्यमको रूपमा कृषि कर्मलाई युवा पुस्ताले अँगाल्न थालेका छन् ।

 

सरकारले कृषिमा लगानी, अनुदान, प्राविधिक सहयोगमा प्राथमिकता दिएकाले जिल्लाका किसान व्यावसायिक हुन थालेको इलामस्थित कृषि ज्ञान केन्द्रका अधिकृत रुजन खड्काले बताए ।

 
व्यक्तिगत उत्पादनलाई भन्दा संस्थागत, सामूहिक, फर्म, उद्योग, व्यवसायमा स्थानीय, सरकारी लगानी नीति बढेसँगै व्यावसायिक खेतीमा युवा आकर्षण बढ्दै गएको हो ।

 

सरकारको प्राथमिकता विदेशबाट फर्किएर आएका युवा लक्षित भएकाले व्यावसायिक खेतीमा उनीहरूको चासो बढ्दै गएको छ । स्वदेशमै रहेकाले भन्दा विदेशबाट फर्किएकाले कृषिलाई दिगो व्यवसायका रूपमा अँगाल्न थालेको देउमाई नगरपालिकाका कृषक देवेन्द्रप्रसाद बरालले जानकारी दिए ।

 

नगदे बालीले परिचित जिल्लामा अलैँची, अदुवा, ताजा तरकारी, स्कुस, अकबरे, केराउ, आलु, सुन्तला, किबी र कफीको व्यावसायिक खेती बढ्दै गएको छ । आधुनिक प्रविधिसँगै यान्त्रिकीकरणमा जोड दिइएकाले कृषि व्यवसाय सहज बन्दै गएको छ ।

 

स्थानीय क्षेत्रमा कृषि कामदार अभावले यान्त्रिकीकरणमा जोड दिइएको कृषि ज्ञान केन्द्रका अधिकृत खड्का बताउँछन् । 


कृषि ज्ञान केन्द्रमार्फत जिल्लाका किसानलाई १५ करोड ३१ लाख ८४ हजार लागनी भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरणको २८ कार्यक्रममा अनुदान वितरण गरिएको छ ।

 

९७ व्यक्ति तथा सहकारी समूहलाई प्रदेश सरकार अर्थात् ज्ञान केन्द्रको कार्यक्रमअन्तर्गतको बजेट अनुदान दिइएको जनाइएको छ । अनुदानले जिल्लाका ३ हजार १ सय १५ घरधुरीका ७ हजार ६ सय ३ जना १५ देखि ५९ वर्षका युवा लाभान्वित भएको तथ्यांकमा उल्लेख छ ।