म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ स्थित पर्यटकीय स्थल खोपारा लेक जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको सहयोगमा स्वाँताका बासिन्दाले स्वातादेखि ढाडखर्क खोपारा हुँदै खयरभारानी ताल जाने पदमार्ग निर्माण गरेका हुन् ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको यो योजनाबाट स्वाँता, दाडखर्क, खोपारा र खयरखोला क्षेत्रमा पदमार्ग तथा आसरपुको भीरमा पक्की भर्याङ निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष मनबहादुर तिलिजाले बताए ।
विभिन्न ठाउँमा १ हजार ६ सय मिटर माटो खनेर, १ सय १० मिटर पीसीसी ढलान र १६ मिटर भर्याङ निर्माण गरिएको छ । खोपारादेखि खयरखोलाको बीचमा १ सय मिटर, दाडखर्कदेखि खोपारासम्म १ सय मिटर सिँढी चिनेर पदमार्ग निर्माण भएको हो ।
स्वाता गाउँदेखि ढाडखर्क जाने बाटोमा पर्ने आसरपुको भीरमा १६ मिटर लामो पक्की भ¥याङ निर्माण भएको उपभोक्ता समितिका सदस्य लोकबहादुर पुर्जाले बताए । भर्याङ नजिकै १६ वटा पक्की सिँढी निर्माण गरिएका छन् ।
पदमार्ग निर्माण भएपछि पर्यटक, पाहुना र भक्तजन उकालो, चिप्लो, साँघुरो बाटोमा चिप्लने, लड्ने र बाटो बिराएर हराउने समस्या हटेको छ । शिखबाट स्वाँत, घोरेपानीबाट बयली हुँदै खोपारा पुग्न सकिन्छ । पाउद्वार र नारच्याङबाट पनि खोपारा जाने २ वटा पदमार्ग छन् ।
खोपारा लेकको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले अर्को शीर्षकमा विनियोजन गरेको १० लाख रुपैयाँ बजेटबाट पनि पदमार्ग निर्माण भएको छ । खोपारा-खयर पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष राकेश पुर्जाका अनुसार चिन्नेखर्कमा ८ सय २० मिटर पदमार्ग निर्माण भएको छ ।
उनका अनुसार लरेनीमा १ सय ५०, डेरीबासमा १ सय, दोबाटोमा १ सय ५०, खोपारामा २० मिटर पदमार्गका साथै त्यहाँ भल व्यवस्थापनका लागि नाली र ३ थान ग्याबियन पर्खाल निर्माण भएको छ ।
समुद्री सतहदेखि ३ हजार ६ सय ६० मिटरको उचाइमा अवस्थित खोपारा लेक हिमाल, पहाडी भूगोल, सूर्योदय, सूर्यास्तको मनमोहक दृश्यावलोकनका साथै प्राकृतिक र जैविक विविधताका हिसाबले महत्त्वपूर्ण छ ।
खोपारादेखि १ दिनको पैदलयात्रापछि पुगिने ४ हजार ७ सय मिटर उचाइमा बराह शिखर हिमालको फेदीमा रहेको खयरभारानी तालको दर्शन र पूजाआजा गरे मनले चिताएको पूरा हुने जनविश्वास छ ।
पाउद्वार गाउँका बासिन्दाले आफन्तको नाममा खोपारा र खयरभारानी जाने बाटोमा पदमार्ग, चौतारी, धर्मशाला बनाउँदै आएकामा यस वर्ष गाउँपालिकाले पहिलो पटक बजेट विनियोजन गरेको हो ।
खोपारा र खयर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत पर्छ ।