close

पूर्वाधार विकासमा अब्बल बन्दै हल्दीबारी  (भिडियाे खबर)

पूर्वाधार विकासमा अब्बल बन्दै हल्दीबारी  (भिडियाे खबर)

ADVERTISEMENT

झापा- झापाको हल्दीबारी गाउँपालिकामा पछिल्लो समय कृषि र पर्यटनसँगै सडक निर्माणको काम समेत तीव्र गतिमा अघि बढेको छ । विकासको हिसाबले पछि परेको यो गाउँपालिकामा कतिपय ठाउँमा सडकको नामोनिशानसम्म पनि थिएन । अहिले स्थानीय तहमा जनप्रतिनिधि आएपछि सडक निर्माणले तीव्रता पाएको छ । 


सडकलाई ४ भागमा विभाजन गरेर निर्माण सुरु गरेको हल्दीबारीले एक पालिकाबाट अर्को पालिकामा जाने बाटो ड्रेनसहित ४० फुटको, एक वडाबाट अर्को वडा जाने बाटो ३५ फुटको, वडाभित्रका बाटा ३० फुटका, टोले बाटाहरू २५ फुटका र एक घरमा मात्र जाने बाटो २० फुटको बनाउने अवधारणा ल्याएको छ ।

 

बिर्तामोड नगरपालिकाबाट हल्दीबारी हुँदै कचनकवल गाउँपालिका जोड्ने मुख्य सडकको रुपमा चिनिएको नेत्र मार्गमा दैनिक दर्जनौँको संख्यामा सवारी गुड्ने गर्छन् । ग्राभलमै सीमित यो मार्ग अहिले कालोपत्रे हुने क्रमसँगै निर्माण सम्पन्न भएका ठाउँमा सबैभन्दा ठूलो दुलोको समस्याबाट सडक आसपासका मानिस मुक्त भएको हल्दीबारी गाउँपालिकाका स्थानीय प्रेम तामाङ बताउँछन् ।

 

यति मात्र हैन, हुलाकी राजमार्ग, गाउँपालिका कार्यालयबाट दक्षिण रोडलगायत ठाउँमा सडक कालोपत्रे भएको छ । अन्य धेरै ठाउँमा कालोपत्रेको काम अन्तिम चरणमा छ । लामो समयको आशपछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि स्थानीयले विकासको महसुस गरिरहेको स्थानीय खेमराज गौतम बताउँछन् । 


गाउँपालिकाले पालिकाभित्र बहुवर्षीय आयोजनाअन्तर्गत करिब ४६ किलोमिटर बाटो कालोपत्रेको योजनामा समेटेको छ । यसमध्ये आधा बाटो कालोपत्रे भइसकेको छ भने आधा हुने चरणमा छ । 


यो आर्थिक वर्षको अन्त्यसम्म काम सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । योसँगै अरू २३ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्काको अन्तिम चरणमा रहेको हल्दीबारी गाउँपालिका उपाध्यक्ष डम्बर गिरीले जानकारी दिए ।

 

पालिकाले १ सय ५० किलोमिटर बाटो स्तरोन्नतिसँगै ग्राभेल गरेको छ भने करिब १ सय किलोमिटर नयाँ बाटो निर्माण गरेको छ ।