close

चिसोले जनकपुरधामको जनजीवन कष्टकर, सरकार खोज्दै स्थानीय (भिडियाे खबर)

चिसोले जनकपुरधामको जनजीवन कष्टकर, सरकार खोज्दै स्थानीय (भिडियाे खबर)

ADVERTISEMENT

धनुषा- काठमाडौंका मानिसलाई अहिले पनि दिउँसोको तातो घामको रापले लाग्दै होला, चिसो विस्तारै हराउँदै गएको छ । पुस, माघमा हात नै ठिहिर्‍याउने चिसो आजभोलि हुन छाडेको छ । 

 

तर, हात मात्र होइन, मुटु नै काँप्ने चिसो भने तराईका जिल्लामा छ । आगो ताप्नु परेको छ । बिहानदेखि लागेको हुस्सु हटेर कति खेर घाम लाग्ने टुंगो छैन । हुस्सुले सर्वसाधारणको दैनिकी कष्टकर बनाइरहेको छ । 

 

तर, चिसो महसुस गरिरहेका स्थानीय सरकारलाई भने नागरिकले भोगेको समस्याले चिसो पसेको छैन । न नागरिकलाई चिसोबाट जोगाउन केही उपाय अवलम्बन गरिएको छ, न त स्थानीय सरकारको भएको महसुस नै गराएको छ । धनुषाका पालिकाको यही अवस्थाले नागरिक आजित भएका छन् । 


धनुषाको चिसो मौसममा सडक बाहिर रहेका वृद्ध बाले कान गम्छाले छोपेका छन् । शरीरमा ओढ्ने बेरेका छन् । चिसोले सायद रुघा लागेको होला । लौरो ठड्याइरहेका छन् । सायद, चिसो भएर आगो ताप्न उठ्न खोज्दै छन् ।

 

अहिले धनुषामा आगो नतापी सुखै छैन । मौसम कस्तो छ, दृष्यमै अनुमान लगाउन सकिन्छ । शीतलहरले अवस्था दयनीय बनाएको छ । काठमाडौंमा पारिलो घाम देखिरहेकाका लागि यो दृष्यले एकछिन भए पनि आछु ! भन्ने पक्कै बनाउला ।

 

उसो त पुष र माघ प्रदेश २ का अधिकांश जिल्लामा शीतलहरले खाँबो नै गाड्छ । न त आगो तापेर नै शरीरलाई तताउन सकिन्छ ।


एकछिनको आगो निभेसँगै शरीरमा उही चिसोले गाँजिहाल्छ । पहिले-पहिले स्थानीय सरकारले यी वृद्ध बाजस्तै धेरैका लागि न्यानो कपडा वितरण गर्दथे । तर, पुसमै सबै स्थानीय तहसँग छलफल गर्ने बताएका प्रमुख जिल्ला अधिकारीले अहिलेसम्म कुनै काम अगाडि नबढाएको उपमहानगरबासी बताउँछन् ।

 

केही समयअघि धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले चिसोबाट जोगाउन छलफल गर्ने बताएका थिए । तर, अहिलेसम्म न भनेको कुरा पुगेको छ, न त १८ पालिकासँग छलफल र संवाद नै अगाडि बढेको छ ।

 

गाउँटोलमा नागरिकले स्थानीय सरकार हुनुको अनुभूति गर्न पाएका छैनन् । जाडोबाट गरिबलाई बचाउन विकल्प प्रयोग गर्न स्थानीय राजनीतिक दल, स्थानीय निकाय र दैवीप्रकोप समिति बनाइए पनि सबै निष्क्रिय छन् । अहिलेसम्म कुनै तयारी नै भएको नभएको उपमहानगरको वडा नम्बर २३ का वडाध्यक्ष शत्रुधन पाण्डेय बताउँछन् ।

 

स्थानीय सरकार भने नागरिकलाई चिसोबाट जोगाउने दाबी गर्न भने छाड्दैन । चिसो र जाडोका कारण जनकपुरधाम उपमहानगरको २६ वोटै वडाका बासिन्दाको जनजीवन प्रभावित हुन थालेको छ । हुस्सु र जाडोका कारण बजारमा चहलपहल विस्तारै घटेको छ । 

 

स्थानीयले अँगेना र घरबाहिर घूर तापेको देखिन्छ । विद्यालय जाने छात्रछात्रामा समेत कमी आएको छ । शीतलहर र हुस्सुको कारण जनकपुरको सडकमा दिनमै बत्ती बालेर सवारीसाधन चलाइन थालिएको छ ।


जब नागरिकलाई सरकार चाहिन्छ त्यतिखेर सरकार मौन रहन्छ । नागरिकको समस्या सुन्दैन, समाधान गर्न लाग्दैन भने किन पो चाहियो सरकार ?