close

नयाँ उद्यमीका लागि याङ्बरकले माग्यो आशय-पत्र

नयाँ उद्यमीका लागि याङ्बरकले माग्यो आशय-पत्र

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- नयाँ उद्यमी सिर्जनाका लागि सीप विकास तालिम सञ्चालन गर्न ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिकाले सेवाप्रदायक संस्था माग आशयपत्र गरेको छ । 

 

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) मार्फत नयाँ उद्यमी सिर्जना तथा स्तरोन्नतिका लागि एड्भान्स सीप विकास तालिम सञ्चालन गर्न आशयपत्र पेस गर्ने गरी सेवाप्रदायक संस्थालाई आह्वान गरिएको हो । 

 

इच्छुक संघ-संस्थाहरूले २१ माघभित्र आशयपत्र पेस गर्नुपर्नेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकप्रसाद फागोका अनुसार ८० जना नयाँ उद्यमी सिर्जना तथा २० जनालाई स्तरोन्नति गर्ने गरी सेवाप्रदायक संस्थाले आशयपत्र पेस गर्नुपर्नेछ । 

 

सीप तथा उद्यम विकाससम्बन्धी कम्तीमा ३ वर्षसम्मको तालिम सञ्चालनको अनुभव भएको, भ्याटमा दर्ता भएको, संस्थाको विधानको प्रतिलिपिसमेत संलग्न राखेको, कानुनबमोजिम संस्था दर्ता र नियमित नवीकरण भएको, कर चुक्ता कागजात भएको संस्थाले आशयपत्र पेस गर्न सक्नेछन् । 

 

प्रमुख प्रशासकीय अधिकृत फागोका अनुसार आशयपत्र पेस गर्ने मनसाय भएका सेवाप्रदायक संस्थाले पाथीभरा याङ्बरक गाउँपालिकाको राजस्व खातामा माग भएका कागजातका साथ १ हजार रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ ।

 

गाउँपालिकाले लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ को नियम (१३) अनुसार संक्षिप्त सूचीका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको अवगत गराएको छ ।

 

गरिबी निवारणका लागि लघू उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ को अनुसूची, ४ को सेवाप्रदायक संस्थाको कार्य विवरण तथा आशयपत्रबमोजिमका सर्तअनुसारको ढाँचामा आशयपत्रका विवरण भर्नुपर्नेछ ।

 

यसअघि सीधै सेवाप्रदायक संस्थामार्फत सञ्चालन हुने र जिल्लास्थित घरेलु कार्यालयले नियमन तथा सुपरीवेक्षण गर्ने व्यवस्था रहेकामा लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ अनुसार लघु उद्यमसँग सम्बन्धित कार्यक्रम स्थानीय तहमा हस्तान्तरण भई सेवाप्रदायक संस्थामार्फत कार्यान्वयन हुने व्यवस्था छ ।