close

पत्थरडाँडा-तिनाउ सडक निर्माण सुरु 

पत्थरडाँडा-तिनाउ सडक निर्माण सुरु 

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको तिलोत्तमा नगरपालिकाको पत्थरडाँडा चोकबाट पश्चिम हुँदै तिनाउ नदीसम्म जाने सडक विस्तार शिलान्यास गरिएको छ ।

 

क्षेत्राधिकार ५२ फुट कायम गरी नाली, पेटीसहित सडकलाई २ लेनमा विस्तार गर्ने कार्यको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले वडा नम्बर १३ को तीनधुरेमा शिलान्यास गरे ।


तिलोत्तमाद्वारा प्रस्तावित प्रादेशिक बसपार्क स्थलसम्म पुग्ने यो सडकको लम्बाइ ६ दशमलव ८ किलोमिटर छ । नदीजन्य पैदावार ओसारपसार गर्ने निकासी सडकको रूपमा परिचित यो सडक विस्तारको लागत ३४ करोड रुपैयाँ अनुमान गरिएको छ ।


स्थानीय जनप्रतिनिधिको सक्रियतामा क्षेत्राधिकार कायम गराइएको यो सडक बहुवर्षीय ठेक्का लगाएर २ वर्षभित्र निर्माण गर्ने लक्ष्य लिइएको छ । वडा नम्बर १३ र १४ को विकासमा महत्त्वपूर्ण टेवा पु¥याउने यो सडक निर्माणलाई तीनै तहका जनप्रतिनिधिले महत्त्व दिँदै आएका छन् ।


कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले सडक निर्माणमा स्थानीय जनप्रतिनिधिले देखाएको तत्परताको प्रशंसा गर्दै बजेट अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गरे । डीपीआर निर्माणको क्रममा रहेको बताउँदै उनले सडकको क्षेत्राधिकार पूर्णतः क्लियर गराउन नगर जनप्रतिनिधिलाई आग्रह गरे ।

 

‘जग्गाको सुनिश्चितता गराउने जिम्मेवारी नगरपालिकाको हो । सडक निर्माणमा मुआब्जा दिने प्रदेश सरकारको नीति छैन’, मन्त्री चौधरीले भने ।


प्रादेशिक बसपार्क निर्माणभन्दा पहिले त्यहाँसम्म पुग्ने पहुँच मार्ग निर्माणलाई प्राथमिकता दिइनुपर्ने बताउँदै मन्त्री चौधरीले सडक सञ्जालको विस्तारले बसपार्कको औचित्यलाई पुष्टि गराउने दाबी गरे ।

 

बेलबास–बेथरी सडक, तिनाउ करिडोर, पत्थारडाँडा-तिनाउ सडकलगायतका सडक सञ्जाल निर्माणसँगै बसपार्कको कामलाई अघि बढाउन उपयुक्त हुने चौधरीको भनाइ छ ।

 

कार्यक्रममा प्रदेश सांसदत्रय तुलसी चौधरी, रमा अर्याल र सन्तोष पाण्डेयले विकासको मुख्य आधार सडक रहेको बताउँदै सडक विस्तारमा सबैको सहयोग र सहकार्य अपरिहार्य हुने आवश्यकता औँल्याए ।


तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले स्थानीय, प्रदेश तथा संघीय सरकारको सहकार्यमा नगरका प्रमुख सडकलाई विस्तार गरी स्तरीय बनाउने कामलाई प्राथमिकता दिइएको बताए ।

 

सडक विस्तारमा स्थानीय जनप्रतिनिधि र नागरिकले सहयोग गर्नुपर्नेमा उनको जोड छ ।


वडा नम्बर १३ का वडाध्यक्ष गणेश न्यौपाने र वडा नम्बर १४ का वडाध्यक्ष सोहन चौधरीले स्थानीय समाजसेवी, अगुवा, टोल विकास संस्थाका पदाधिकारीलगायत सबैको सहयोगले सडकको क्षेत्राधिकार कायम गर्न सम्भव भएको जानकारी दिए ।