close

कोरोनापीडित पर्यटन व्यवसायीको गुनासो : पहुँच नहुँदा पुनर्कर्जाबाट वञ्चित भयौँ 

कोरोनापीडित पर्यटन व्यवसायीको गुनासो : पहुँच नहुँदा पुनर्कर्जाबाट वञ्चित भयौँ 

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीका होटल तथा पर्यटन व्यवसायीका समस्या समाधानका विषयमा बुटवलमा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरिएको छ । 

 

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीको आयोजनामा भएको छलफलमा नेपाल पर्यटन बोर्ड लुम्बिनी प्रदेशका प्रमुख, नाटाका लुम्बिनी प्रदेश अध्यक्ष सम्मिलित कार्यक्रममा पर्यटन व्यवसायीले पहुँच नहुँदा पुनर्कजा पाउन नसकिएको गुनासो गरेका हुन् ।


छलफलमा होटल तथा पर्यटन व्यवसायीले कोरोनाका कारण पीडित भएकालाई सरकारले उपलब्ध गराउने भनेकोे पुनर्कर्जा अहिलेसम्म पाउन नसकिएको बताए ।

 

पहुँचमा रहेकाले मात्र सरकारी सेवा-सुविधा पाएका र सर्वसाधारण र स्वरोजगार व्यवसायीको पहुँच नहुँदा पुनर्कजना पाउन नसकिएको उनीहरूको भनाइ छ । कोराना महामारीका कारण पर्यटन व्यवसायीले घरभाडा र बैंकको ब्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेको उनीहरूले बताए ।

 

कार्यक्रममा नेपाल पर्यटन बोर्डका लुम्बिनी प्रदेशका प्रमुख लीलाबहादुर बानियाले आन्तरिक रूपमा पर्यटनलाई व्यवस्थापन गर्न सकिए राज्यलाई फाइदा हुने र पर्यटन व्यवसायीको व्यवसायमा सुधार आउने दाबी गरे ।

 

उनले भने, ‘पर्यटन क्षेत्रको विकासका लागि विकेन्द्रीकण हुनुपर्छ । पर्यटन प्रवर्द्धनमा लगानी बढाइनुपर्छ । यस क्षेत्रको पर्यटनलाई विकास गर्न आगामी असोजदेखि बोर्डको लुम्बिनी प्रदेश कार्यालय स्थापना गरिनेछ ।’

 
संस्कृति तथा पर्यटन मन्त्रालयमा रहेको ३० करोड बजेट यसै क्षेत्रको पर्यटनको विकासका लागि ल्याउन पहल भइरहेको उनले जानकारी दिए । 

 

नाटाका लुम्बिनी प्रदेश अध्यक्ष सागर अधिकारीले पर्यटन व्यवसायीका समस्याप्रति राज्यसँग पहल गरेर व्यवसायीलाई सेवा-सुविधा उपलब्ध गराउने प्रतिबद्वता जनताए । कोरोनाका कारण नेपाल-भारतको सीमा पूर्ण रूपमा सुचारु नहुँदा पर्यटन व्यवसायी मारमा परेकाले आन्तरिक पर्यटनमा ध्यान दिन उनले सुझाए ।


होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले रूपन्देही आउने आन्तरिक र बाह्य पर्यटकलाई बसाल्न सक्ने गरी व्यवसायलाई स्तर वृद्धि गर्न माग गरे । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष समुद्र जिसीले पर्यटन व्यवसाय सेवामूलक भएकाले रातीमा पनि सञ्चालन गर्न पाउनुपर्ने बताए । 

 

कार्यक्रममा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, प्रदेश सदस्य रामप्रसाद गौतम, संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, प्रथम उपाध्यक्ष बाबुराम गौतमलगायतले पर्यटन व्यवसायीको संरक्षण र लगानी सुरक्षाका लागि सरकारले आन्तरिक पर्यटक विस्तार गर्ने योजना ल्याउन माग गरे ।