close

दूध उत्पादन गर्ने किसानलाई एक रुपैयाँ अनुदान

दूध उत्पादन गर्ने किसानलाई एक रुपैयाँ अनुदान

Trulli
ADVERTISEMENT

रुपन्देही– तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैंयाँको दरले अनुदान उपलब्ध गराएको हो ।


उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष किसानले ४५ लाख ९८ हजार ८ सय २१ रुपैंयाँ प्राप्त गरेका छन् । अनुदानलाई साना किसानसम्म पुर्याउन एक आर्थिक वर्षमा सहकारीमार्फत विक्री गरेको दुधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिएको नगर प्रमुख बासुदेव घिमिरेले वताए ।


सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७६÷०७७ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २० वटा दुग्ध उत्पादक सहकारीमा आवद्ध ३ हजार २ सय ५५ जना किसानले अनुदान रकम प्राप्त गरेका छन् ।
 

दुग्ध उत्पादक सहकारीलाई प्रदान गरिएको अनुदान रकम सहकारीमार्फत किसानले प्राप्त गर्नेछन् । नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा पनि यो नीतिअनुरुप झण्डै ३७ लाख रुपैंयाँ किसानलाई अनुदान उपलव्ध गराएको थियो ।

 

उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकोले नगरपालिकाले उत्पादनको आधारमा अनुदान रकम दिने नीति लिएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीको भनाई छ ।


यो वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नं. १४ स्थित गौतमबुद्ध दुध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । केन्द्रले ९ लाख २६ हजार ८५२ रुपैंयाँ प्राप्त गरेको छ । यस्तै वडा नं. १४ कैं टिकुलिगढ दुग्ध उत्पादक सहकारीले ५ लाख २० हजार ५४ रुपैंयाँ, वडा नं. १२ को गोकुल दुग्ध उत्पादक सहकारीले ४ लाख ७० हजार ५ सय २७ रुपैंयाँ, वडा नं. ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले ४ लाख २७ हजार ५ सय ५७ रुपैंयाँ प्राप्त गरेको छ ।
 

गत वर्षको तुलनामा यो वर्ष दुग्ध उत्पादन बढ्दा किसानले झण्डै आठ लाख रुपैंयाँ बढी अनुदान रकम प्राप्त गरेका छन् । दुधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक एक करोड लिटर दुध उत्पादन हुने गरेकोमा त्यसको झण्डै आधा दुध सहकारीमार्फत विक्री वितरण हुने भएको छ ।
 


अनुदान वितरण कार्यक्रममा दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य हरि काफ्लेले किसानको पक्षमा तिलोत्तमा नगरपालिकाले गरेका काम प्रशंसनीय रहेको बताउँदै सोझै किसानको हातमा रकम जाने यो कार्यक्रम सबैको लागि अनुकरणीय रहेको वताए ।


दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेयले तल्लो तहको किसानको गोठमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको वताए । दुधको खपत बढाइनुपर्नेमा जोड दिँदै उहाँले विशिष्ट सहकारीमार्फत् बन्न थालेको दुग्ध प्रशोधन केन्द्रमा सेयर लगानी गर्न प्रारम्भिक सहकारी संस्थाहरुलाई आग्रह गरे ।सरकार र सहकारीको संयुक्त लगानीमा तिलोत्तमा नगरपालिकाको वडा नं. ६ मा युएचटी दुग्ध प्रशोधन परियोजना निर्माण कार्य अघि बढेको छ ।