close

राजनीतिको अखडा बन्दै सामुदायिक विद्यालय, कामै नगरी २ करोड झ्वाम 

राजनीतिको अखडा बन्दै सामुदायिक विद्यालय, कामै नगरी २ करोड झ्वाम 

Trulli
ADVERTISEMENT

धनुषा- विद्यालयलाई घरपछिको शिक्षा आर्जन र अनुशासन सिकाउने थलो मानिन्छ । तर, जब विद्यालयमै अनियमितताको फेहरिस्तको आवाज सुनिन्छ, त्यसपछि नागरिकले औँलो ठड्याउने गर्छन् ।

 

धनुषाका सामुदायिक विद्यालयमा राज्यको अर्बौं रुपैयाँ लगानी छ । तर, सामुदायिक विद्यालयहरू शैक्षिक जनशक्ति उत्पादन गर्नुभन्दा बढी राजनीति गर्ने अखडा बन्दै गएका छन् । सोही कारण यहाँका सामुदायिक विद्यालय निजीको तुलनामा कमसल छन् । 


सामुदायिक विद्यालयको पहिलो काम विद्यार्थीलाई आकर्षण गर्नु नै हो । यसका लागि राज्यले दिएको साधन-स्रोत सदुपयोग गरेर सामुदायिक विद्यालयले समुदायमा उत्कृष्ट नतिजा दिन सक्छन् । राज्यले शिक्षाको लगानी सबै सामुदायिक विद्यालयमै बढी गर्ने गरेको छ । 


निजी विद्यालयमा कम तलबमा काम गर्ने शिक्षकको पढाइ अब्बल हुने तर सामुदायिक विद्यालयमा ठूलो स्केलको सरकारी रकम खाएर काम पढाउने शिक्षकको नतिजा सधैँ निरासाजनक । यसको प्रमुख कारण हो, सामुदायिक विद्यालयमा बढ्दै गइरहेको राजनीतिक गतिविधि ।

 

सामुदायिक विद्यालयका अधिकांश शिक्षकहरू शिक्षणभन्दा बढी राजनीतिमै चासो राख्छन् । विद्यालयमा अध्यापन गराउन छाडेर शिक्षकहरू पार्टी राजनीति अफिस र मन्त्रालयहरूमा दौडधुपमै व्यस्त देखिन्छन् । विद्यार्थीको भविष्यसँग खेलवाड गर्न थुप्रै सामुदायिक विद्यालय र त्यसमा कार्यरत शिक्षकहरू तल्लीन छन् ।

 

राज्यले सामुदायिक विद्यालयतर्फ विद्यार्थीलाई आकर्षित गर्न अर्बौं रुपैयाँ लगानी गरे पनि अधिकांश ठाउँमा त्यो लगानी बालुवामा पानी बनेको छ । यसको प्रत्यक्ष उदाहरण धनुषाका करिब ३० वटा विद्यालयको क्रियाकलाप हेरेरै अनुमान लगाउन सकिन्छ । 

 

धनुषाका करिब ३० वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले राज्यको लगानीलाई दुरुपयोग गरेको भेटिएको छ । आफ्ना विद्यालयलाई नमुना विद्यालय बनाएको बताउने केही प्रधानाध्यापकले समेत ठूलै रकमको चलखेल गरेका छन् । 

 

शिक्षा विकास तथा समन्वय इकाइ धनुषाले जिल्लाका ३० वटा विद्यालयलाई लाइब्रेरी व्यवस्थापन एवं किताब खरिद गर्न अनुदानस्वरूप विद्यालयको खातामा पठाएको १ करोड ८८ लाख ५० हजार रुपैयाँ कामै नगरी भ्रष्टाचार गरिएको तथ्य खुलेको छ । 


शिक्षा विकास तथा समन्वय इकाइ धनुषाले जिल्लाका ३० वटा विद्यालयलाई आर्थिक वर्ष २०७४/७५ मा लाइब्रेरी व्यवस्थापन एवं ककिताब खरिद गर्न अनुदानस्वरूप विद्यालयको खातामा प्रतिविद्यालय ६ लाख ५० हजार रुपैयाँका दरले रकम पठाएको थियो ।

 

तर, हालसम्म ती विद्यालयले उक्त रकम खर्च गरेको बिल भर्पाइ तथा दाखिला प्रतिवेदन कार्यालयमा बुझाई पेस्की फस्र्योट गराउनुपर्नेमा हालसम्म धनौजी गाउँपालिकास्थित बहुअर्वा माविबाहेक कुनैले पनि पेस्की फस्र्योट नगराएको शिक्षा विकास तथा समन्वय इकाइ धनुषाका प्रमुख ईश्वरीप्रसाद ज्ञवालीले जानकारी दिए । 


मिथिलाबिहारी नगरपालिकास्थित ललिया मावि र कजरा रमौल मावि, क्षीरेश्वर नगरपालिकास्थित इच्छापुर मावि र दिगम्बरपुर मावि, औरही गाउँपालिकास्थित परवाहा मावि, चक्कर मावि, औरही मावि र झिटकहिया मावि, बटेश्वर गाउँपालिकास्थित चित्रपुर मावि, विदेह नगरपालिकास्थित बफै माविलाई लाइब्रेरी व्यवस्थापनका लागि किताब खरिद गर्न शिक्षा विकास तथा समन्वय इकाइ धनुषाले ६ लाख ५० हजारका दरले रकम उपलब्ध गराएको थियो ।

 

यस्तै, हंसपुर नगरपालिकास्थित झटियाही मावि, टिल्ही मावि र रुदौली सोनीगामा मावि, जनकपुरधाम उपमहानगरस्थित संकटमोचन मावि, बभनगामा मावि, सोहनी मुजेलिया मावि, रुपैठबेल्ही मावि, सरस्वती मावि, सरस्वती मावि कटरैत वडा नम्बर ७, कनकपट्टी मावि र जानकी माविले पनि साढे ६ लाख रुपैयाँ पाएका थिए ।

 

शिक्षा विकास तथा समन्वय इकाइका अनुसार सबैला नगरपालिकास्थित सिमराढीगढी मावि, मिथिला नगरपालिकास्थित हरिहरपुर मावि , जनकनन्दनी गाउँपालिकास्थित खजुरीचन्हा मावि, गणेशमान चारनाथ नगरपालिकास्थित चिसापानी मावि, नगराइन नगरपालिकास्थित फूलगामा मावि, लक्ष्मीनिया गाउँपालिकास्थित कुम्हरौडा मावि र मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित तुल्सियाही माविलाई आर्थिक वर्ष २०७४/७५ मा लाइब्रेरी व्यवस्थापन एवं स्थापनाका लागि फिक्सिङ तथा किताब खरिद गर्न शिक्षा विकास तथा समन्वय इकाइ धनुषाले ६ लाख ५० हजारका दरले रकम उपलब्ध गराए पनि सामान खरिद नै नगरेकाले पेस्की फस्र्योट नगराएको हुन सक्ने प्रमुख ज्ञवालीले बताए । 

 

त्यस्तै, सोही आर्थिक वर्षमा प्रविधिका माध्यमबाट शिक्षण सिकाइका लागि कम्प्युटर सामग्री तथा किट्स खरिद अनुदान विभागबाट प्राप्त स्पेसिफिकेसनअनुसार खरिद गरेको सामग्रीको दाखिला प्रतिवेदनसमेत जिल्लाका २५ वटा विद्यालयले शिक्षा विकास तथा समन्वय इकाइ धनुषालाई नबुझाएपछि उक्त रकमसमेत बेरुजु देखिएको प्रमुख ज्ञवालीले जानकारी दिए । 

 

इच्छापुर मावि, परवाहा मावि, चित्रपुर मावि, बफै मावि, बहुअर्वा मावि, झटियाही मावि, संकटमोचन मावि, सरस्वती मावि कटरैत वडा नम्बर ७, खजुरी चन्हा माविलाई प्रविधि शिक्षण सिकाइका लागि कम्प्युटर सामग्री तथा किट्स खरिद गर्न ६ लाख ५० हजारका दरले बाँडिएको थियो ।

 

यस्तै, जानकी मावि, दिगम्बरपुर मावि, रुदौली सोनिगामा मावि, कुम्हरौडा मावि, तुल्सियाही मावि, झिटकहिया मावि, केएस एच मावि खजुरी, सपही मावि, बघचौडा मावि, ललिया मावि, बनिनिया गोपालपुर माविलाई पनि सोही रकम उपलब्ध गराइएको थियो ।

 

शिक्षा समन्वय इकाइका अनुसार लालगढ मावि, मिथिलेश्वर मौवाही मावि, तुल्सीचौडा मावि, प्रितपुर पर्वता मावि र सखुवाबजार माविका विद्यार्थीलाई प्रविधि माध्यमबाट शिक्षण सिकाइका लागि कम्प्युटर सामग्री तथा किट्स खरिद गर्न ६ लाख ५० हजारका दरले कुल १ करोड ६२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको थियो । यी सबै रकमको अहिलेसम्म कुनै हरहिसाब कसैसँग छैन ।