close

सडक सञ्जालमा जोडियो अन्नपूर्णको ठूलोबगर 

सडक सञ्जालमा जोडियो अन्नपूर्णको ठूलोबगर 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ को ठूलोबगर सडक सञ्जालमा जोडिएको छ । बेनी-जोमसोम सडकको छेउ र गाउँपालिकाको केन्द्र पोखरेबगरको नजिकै रहेको ठूलोबगरमा पहिलो पटक सडक सुविधा हो । 

 

अन्नपूर्णको आर्थिक सहयोगमा उपभोक्ता समितिले वडा नम्बर १ दोबाको सुनारीदेखि छ्यारछ्यारेको भीर छिचोलेर ठूलोबगरमा सडक पु¥याएका हुन् । सुनारीदेखि ठूलोबगर जोड्ने सडकअन्तर्गत छ्यारछ्यारेको भीरमा करिब ३ सय मिटर पहाड फुटाएर ट्रयाक (मार्ग) खोलिएको छ । 

 

गत वर्षको जेठमा सुरु भएको सडक निर्माण छ्यारछ्यारेको भीरमा मार्ग खोल्दाखोल्दै बजेट सकिएपछि रोकिएको थियो । ठूलोबगरका बासिन्दासमेत रहेका वडा सदस्य बुद्धि पुनले गत वर्ष १५ लाख रुपैयाँ विनियोजन गरेको सडकलाई यस वर्ष थप १२ लाख रुपैयाँ विनियोजन गरेर पूर्णता दिइएको जानकारी दिए । 

 

‘सडक निर्माण भएपछि स्थानीयलाई आवजाउका साथै कृषि उपज निकासी गर्न र निर्माण सामग्री ढुवानी गर्न सहज भएको छ’, उनले भने, ‘सुन्तला, तरकारी खेती र बाख्रापालन गरेका कृषकलाई कृषि उपज गाडीमा ढुवानी गरेर बजार पठाउन सहज भएको छ ।’ 


गाउँपालिकाको केन्द्र पोखरेबगर र ठूलोबगरलाई बीचमा बगेको कालीगण्डकीले छुट्याएको छ । यो सडकबाट ठूलोबगरका साथै कटुञ्जे र सुनारीका बासिन्दा लाभान्वित भएका छन् । ठूलोबगर, कटुञ्जे र सुनारीका १ सय ९५ घरधुरीलाई सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर पुर्जाले बताए । 

 

‘ठूलोबगरदेखि कटुञ्जेतर्फ जोड्ने सडकको ४ किलोमिटर मार्ग यसअघि नै खोलिएको थियो’, उनले भने, ‘चालू आर्थिक वर्षमा ठूलोबगरबाट कटुञ्जेतर्फ सडलले जोड्न निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत थप ८ लाख रुपैयाँ विनियोजन भएको छ ।’


थप डेढ किलोमिटर मार्ग खोलेपछि कटुञ्जेलाई सडकले जोड्न सकिने उपभोेक्ता समितिका अध्यक्ष पुर्जाले बताए । 


सडक सुविधा नभएका कारण कटुञ्जेमा उत्पादित सुन्तला बजार पु¥याउन समस्या थियो । सडक सुविधासँगै ठूलोबगर, कटुञ्जे र सुनारीलाई सुन्तला, तरकारी खेतीको पकेट क्षेत्र बनाई स्थानीयको आयआर्जन सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


सडक मार्गलाई मर्मत, संरक्षण र विस्तार गरेर बाह्रै महिना यातायातका साधन सञ्चालनका लागि प्राथमिकता दिइएको वडा अध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए । कटुञ्जेमा सडक पुगेपछि वडाका सबै बस्तीमा यातायातको सुविधा पुग्ने उनले बताए ।