close

जापानको रोजगारी त्यागेर आएपछिको खुसी

बाख्रापालनले दिलायो १ लाख पुरस्कार

जापानको रोजगारी त्यागेर आएपछिको खुसी

बाख्रापालनले दिलायो १ लाख पुरस्कार

Trulli
ADVERTISEMENT

रूपन्देही- स्थानीय सरकारले सडक खानेपानीलगायत विकास निमार्ण मात्र होइन, कसले कसरी काम गरेको छ भन्ने मूल्यांकन पनि हुँदो रहेछ भन्ने उदाहरण तिलोत्तमा नगरपालिकाले देखाएको छ ।

 

नगरपालिकाले रोजगारीका लागि जापान गएर पुनः स्वदेशमै फर्किएर व्यावसायिक बाख्रापालन गर्दै आएका एक युवालाई सम्मान गरेको छ । तिलोत्तमाका सुनीलकुमार पाण्डेलाई नगरपालिकाले १ लाख रुपैयाँको पुरस्कारसहित सम्मान गरेको हो । 

 

तिलोत्तमा नगरपालिकामा सञ्चालन भएको दायित्व परियोजानको ‘नगरप्रमुख दायित्व ग्रामीण उद्यम दुर्तीकरण परियोजना’ ले उनलाई सम्मान गरेको हो ।


नेपाल छँदा गार्मेन्ट उद्योगमा लागेका पाण्डे रोजगारीका लागि जापानमा गएका थिए । उनले जापानमा गरिएको व्यवसायी पशुपालनलाई देखेर स्वदेश फर्किएर व्यावसायिक बोयर जातको बाख्रापालन गर्दै आएका छन् । 

 

उनलाई नगरपालिकामा सञ्चालित एक परियोजनाले उत्कृष्ठ १० जनाबाट ५ जना उद्यमीमा छनोट गरेको थियो । तिलोत्तमा वडा नम्बर २ मा उनले सुरुमा ३० वटा बोयर बाख्रापालन सुरु गरेका थिए । हाल उनको फार्ममा ८० वटा बोयर बाख्रा छन् ।

 

आगामी वर्ष ३ सय वटा बोयर बाख्रापालन गरी नमुना फार्म बनाउने योजना बनाएको पाण्डेले सुनाए । उनलाई तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरे, उपप्रमुख जागेश्वरीदेवी चौधरी, नगर प्रवक्ता सुरेन्द्र श्री, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेललगायतले सम्मानसहित नगद पुरस्कार प्रदान गरेका थिए ।

 

उत्कृष्ट ५ जनाको प्रस्तुतिसहितको प्रतिवेदनअनुसार उत्कृष्ट १ मा छनोट गरी नगद पुरस्कारसहित सम्मान गरिएको हो । पाण्डेले भने, ‘कामको सम्मान भएको छ । यो हौसलाले मजस्ता धेरै युवालाई कृषिमा लाग्न आर्कषण गर्छ’, पाण्डेले भने ।


नगरप्रमुख घिमिरेले कामको सम्मान स्वदेशमै हुने उदाहरण पाण्डेले देखाएको बताए । उनले तिलोत्तमामा नेपालमै सबैभन्दा धेरै गाई फार्मलगायत धेरै कृषि फार्म उद्योग रहेको जानकारी दिए ।