close

मुक्त हलियालाई घर बनाउनै दिएनन् भारतीय सुरक्षाकर्मीले (भिडियाे खबर)

मुक्त हलियालाई घर बनाउनै दिएनन् भारतीय सुरक्षाकर्मीले (भिडियाे खबर)

ADVERTISEMENT

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका-९ स्थित ब्रह्मदेवमा भारतले ३ मुक्त हलिया परिवारलाई घर बनाउन अवरोध गरेको छ । सीमा क्षेत्र नजिकै दशकौँदेखि बसोबास गर्दै आएका मुक्त हलिया परिवारलाई भारतीय सुरक्षाकर्मीले घर निमार्णमा अवरोध गरेपछि घर निमार्णको काम अधुरै रहेको हो ।

 

पुनःस्थापना कार्यक्रमअन्र्तगत सरकारले घर मर्मतका लागि रकम उपलब्ध गराएको मुक्त हलिया परिवारलाई २ वर्षअघि घर बनाउन सुरु गरे पनि अहिलेसम्म निर्माण गर्न पाएका छैनन् । ८ साउन २०७७ मा टनकपुर चर्चित बाँध ब्रह्मदेव क्षेत्रमा तारबार गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले निहुँ खोज्यो ।

 

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर  ९ ब्रह्मदेवको सिद्धनाथ सामुदायिक वनले आफ्नो कार्यक्षेत्रको सार्वजनिक जमिन संरक्षण तथा पर्यावरण संरक्षणका लागि तारबार गर्दा भारतीय एसएसबीले त्यसो नगर्न धम्की दिएको थियो ।

 

अहिले फेरि ब्रह्मदेवमै भारतीयले मुक्त हलिया परिवारलाई घर बनाउन अवरोध झिकेको छ । तर, यो पनि पहिलो पटक भने होइन । २०७५ देखि हलिया परिवारलाई घर बनाउन भारतले रोकिरहे पनि नेपाली पक्षबाट भने त्यसको समाधानका लागि कुनै पहल भएको पाइँदैन ।

 

आर्थिक अवस्था कमजोर भएका मुक्त हलिया परिवारलाई नेपाल सरकारले पुनस्र्थापन कार्यक्रमअन्तर्गत घर मर्मतका लागि रकम उपलब्ध भए पनि मुक्त हलिया परिवारले भारतीय अवरोधका कारण घर निर्माण गर्न सकेका छैनन् । घर निर्माण सुरु गरेकै वर्ष भारतीय सीमा सुरक्षा बलले अवबरोध गरेपछि मुक्त हलिया परिवारका ३ सार्की परिवारको घर बनाउने काम अधुरै छ । 

 

भारतीय सीमा सुरक्षा बल एसएसबी हारहतियारसहित घरमै पसेर निर्माणमा अवरोध पुर्‍याउँदा प्लास्टिकको छानो राखेर दिन काट्दै आएको भीमदत्त नगरपालिकाकी मुक्त हलिया लक्ष्मी कार्की बताउँछिन् ।

 

हलिया मुक्त परिवारका ३ वटै घरमध्ये दुइटा घरमा जस्तापातामाथि कालो प्लास्टिकले घरको छानो छोपिएको छ । यस्तै, बाँकी १ घरमा भने प्लास्टिकले मात्रै छाएको मुक्त हलिया खड्क सार्कीले जानकारी दिए ।

 


भारतीय सुरक्षाकर्मीले दैनिक घरमै पुगेर जग्गा छाड्न धम्की दिन्छन् । तर, उनीहरू वर्षौदेखि बस्दै आएको जग्गा छोड्न तयार छैनन् । अवरोधका कारण घरमा मुक्त हलिया परिवारले ढोकासमेत राख्न सकेका छैनन् ।

 

कुनै बेला सीमानाको बहाना बनाएर धम्काउने र कुनै बेला भने गस्तीको नामले घरमै पसेर धम्काएर जाने गरेको स्थानीय पदम साउद बताउँछन् ।

 

सन् १९९१ म टनकपुर बाँध निर्माण गर्ने बेलामा भारतीय पक्षले बाँधका लागि आवश्यक क्षेत्र भनेर निर्माण गरेको चिह्नलाई भारतले सीमा स्तम्भ बताउँदै नेपाली भूभाग मिचेकोे भीमदत्त नगरपालिका वडा नम्बर ९ ब्रह्मदेवका वडाध्यक्ष राम नाथले बताए ।