close

गाउँ जोड्ने सडक : बर्खामा हिलाम्मे, हिउँदमा धुलाम्मे 

गाउँ जोड्ने सडक : बर्खामा हिलाम्मे, हिउँदमा धुलाम्मे 

Trulli
ADVERTISEMENT

पाँचथर- पाँचथर सदरमुकामा फिदिमबाट कुम्मायक गाउँपालिका हुँदै तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजार जोड्ने सडकमा यतिबेला धुलो उडेर कुहिरीमण्डल हुन्छ । फिदिम वडा नम्बर ४ सरखण्डेदेखि रानीगाउँ भएर कुम्मायकको केन्द्र यासोक बजार पुग्नेहरूलाई धुलोको चपेटाले फस्छन् ।

 

जिप, पिकअपजस्ता गाडी भएर यात्रा गर्नेहरूसमेत धुलाम्मे हुन्छन् । अगाडिको गाडीले उडाएको धुलोले पछाडिको गाडीले बाटो नदेख्ने अवस्था हुन्छ ।


यासोकबाट स्याबरुम्बा, आङ्ना हँुदै तुम्बेवा गाउँपालिकाको केन्द्र पुग्दा उत्तिकै धुलोको सामना गर्नुपर्छ । यो त्यही सडक हो, जहाँ बर्खामा हिलाम्मे भएर गाडी चल्न नसक्ने अवस्था हुन्छ ।

 

जिल्लाका अधिकतर ग्रामीण क्षेत्र जोड्ने सडकको अवस्था यही हो । बर्खामा हिलाम्मे भएर धेरै ग्रामीण सडक सञ्चालनमा आउँदैनन् । ठूलो क्षेत्र समेट्ने महत्त्वका मानिएको राँके-बुधवारे सडक खण्ड नै बर्खामा अवरुद्ध हुन्छ । हिउँदमा यिनै सडक हिँड्नै नसक्ने गरी धुलाम्मे हुने गरेका छन् ।


जिल्लाका ८ स्थानीय तहमध्ये फिदिम नगरपालिकाको केन्द्र फिदिम र याङ्बरक गाउँपालिकाको केन्द्र थुर्पमा मात्र कालोपत्रे सडक छन् । अन्य गाउँपालिका केन्द्र जोड्ने सडकमा हिउँद–बर्खा सधैँको सास्ती हुने गरेको छ ।

 

स्थानीय तहको बजेटको ठूलो हिस्सा सडक केन्द्रित छ । तर, स्थानीय तहकै केन्द्र पुग्ने सडकको कन्तविजोगको अवस्था छ । फिदिम बजार क्षेत्रबाहेकका वडा केन्द्र पुग्ने सडकको अवस्था उस्तै छ । 

 

याङ्बरक गाउँपालिकाको केन्द्र थुर्पसम्म पुष्पलाल (मध्यपहाडी) लोकमार्ग सडक कालोपत्रे भएको छ । सडकमा मध्यपहाडीले याङ्बरक भाग्यमानी छ । मध्यपहाडी लोकमार्गले सबै वडा छुन्छ । तर, मध्यपहाडीबाहेकका सडकलाई गतिलो बनाउन सकेको देखिँदैन ।

 

फालेलुङ र तम्बेवा गाउँपालिकाका सडक बेहाल अवस्थामा छन् । मेची राजमार्गले बढी छोएको हिलिहाङ गाउँपालिकाका भित्री सडक पनि उस्तै छन् ।

 

मिक्लाजुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका जोड्ने सडक बर्खामा गाडी चलाउन नसकिने र हिउँदमा धुलाम्मे हुन्छन् । ‘बजेट कमी भएकाले पनि राम्रोसँग सडक बनाउन सकिएको छैन ।

 

माथिल्ला सरकारले ठूला सडक हेरिरहेका छन्,’ मिक्लाजुङ गाउँपालिका प्रमुख अमरराज माखिम भन्छन्, ‘सीमित बजेटमा रहेर काम गरिरहेका छौँ ।’

 

सडकको ट्रयाक भने टोलटोलमै पुगेका छन् । प्राथमिकताको सडक छानेर १२ महिनै गाडी चलाउने बनाउनतर्फ ध्यान गएको देखिँदैन ।

 

स-सानो बजेट बढेर बनाइएका सडक टिकाउ हँुदैनन् । हरेक बर्खामा बिग्रिएका सडक हिउँदमा सामान्य मर्मत गरेर काम चलाउ बनाइन्छ । 


कुम्मायकका खेम निरौला भन्छन्, ‘धुलोले समस्या परेको छ । मोटरसाइकलमा झन् कठिन हुन्छ ।’ सहज सडक नहुँदा बिरामी परेकाहरूलाई थप समस्या हुने गरेको उनी सुनाउँछन् ।

 

जिल्लामा प्राथमिकताका मध्यपहाडी लोकमार्ग, कोसी करिडोर, मेची राजमार्गजस्ता सडक छन् । यीबाहेकका सडक राम्रो नबन्दा समस्या छ । केही सडकमा कालोपत्रेका लागि काम अघि बढाइएको छ । 


आवश्यकताअनुरूप प्रयोग गर्न मिल्ने तथा सहजताको हिसाबले बढी मोटरसाइकल प्रयोग हुन्छ । हिउँदमा पनि रेनकोट लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । ‘धुलो छेक्नलाई रेनकोट लगाउनैपर्छ । नत्र गन्तव्यमा पुग्दा लगाएको लुगा हेर्न नहुने भइसक्छ’, युवा तुलसी आचार्य भन्छन् ।