close

पर्यटकीय स्थल जन्तेढुंगा आन्तरिक पर्यटकको रोजाइमा (भिडियाे खबर)

पर्यटकीय स्थल जन्तेढुंगा आन्तरिक पर्यटकको रोजाइमा (भिडियाे खबर)

ADVERTISEMENT

खोटाङ- खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नम्बर- ५ चिसापानीमा रहेको धार्मिक तथा पर्यटकीय स्थल जन्तेढुंगा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

 

जिल्लाकै पर्यटकीय स्थलका रूपमा रहेको जन्तेढुंगामा पछिल्लो समय पिकनिक जाने, घुमफिर गर्ने, साँस्कृतिक पक्षको अध्ययन र अवलोकन गर्ने स्थानीयको नियमित आवागमन हुन थालेको हो । 


खोटाङको पर्यटकीय स्थल जन्तेढुंगा चिसापानी र जन्तेढुंगा गाउँपालिका वडा नम्बर ६ दिप्लुङको सीमामा पर्छ । फराकिलो डाँडामा रहेको विशाल ढुंगामा देखिने जन्तीको आकृति अवलोकनका लागि जन्तेढुंगा प्रसिद्ध छ ।

 

परापूर्वकालमा गोल्पा राजा र गोल्मा रानीको जन्ती अलप भएको आधारमा सो स्थानको नाम जन्तेढुंगा हुन गएको पौराणिक किंवदन्ती रहेको वडा नम्बर ५ का काशिरामकुमार राई बताउँछन् ।

 

जन्तेढुंगामा ढुंगामा २ वटा विशाल ढुंगा, ढुंगाको भित्तामा प्राकृतिक रूपमा बनेको पंक्तिबद्ध जन्तीको आकृति, दमाहाको धुन निस्कने ढुंगा, जाँतोलगायत दृश्यावलोकन गर्न सकिन्छ । पञ्चकन्य थान रहेको जन्तेढुंगा दृश्यावलोकनका लागिसमेत उपयुक्त स्थान हो । 

 

स्थानीय सरकारले धार्मिक तथा पर्यटकीय स्थल जन्तेढुंगाकै नामबाट गाउँपालिकाको नामकरण गरिएको हो । साँस्कृतिक महत्त्वको जन्तेढुंगामा घुमफिर गर्न र पिकनिक जाने स्थानीयको बाक्लो उपस्थिति हुने गरेको छ ।

 

जन्तेढुंगाको किंवदन्ती र इतिहासको खोजीका लागि स्वदेशदेखि विदेशसम्मका अनुसन्धानकर्तालाई भित्र्याउन खोजिएको वडा नम्बर ४ का वडाध्यक्ष विदुरमान राईले बताए ।

 
२०७१ मा पर्यटन मन्त्रालयको १० लाखमा जन्तेढुंगाको दुईतिरबाट सिँढी निर्माण गरिएको छ । २०७२ मा प्रतीक्षालय र आर्थिक वर्ष २०७६÷७७ मा गाउँपालिकाको ७ लाख रुपैयाँमा किराती पुर्खा सुम्निमा र पारुहाङको प्रतिमा राखिएको छ । 

 

जिल्लाकै प्रमुख गन्तव्य स्थलका रूपमा रहेको जन्तेढुंगाको पर्यटन प्रवद्र्धनका लागि डीपीआर निर्माण एवं पानी व्यवस्थापनको काम भइहेको गाउँपालिकाका अध्यक्ष शंकर राईले जानकारी दिए । 

 

जन्तेढुंगामा देविस्थान, चण्डिथान, भानुमतिलगायत प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल छन् । खोटाङमा पछिल्लो समय सडक, पूर्वाधार निर्माण भएसँगै पर्यटकको घुँइचो लाग्न थालेको छ ।