close

दूध उत्पादनमा अनुदान पाएपछि बाग्लुङे किसान मख्ख

दूध उत्पादनमा अनुदान पाएपछि बाग्लुङे किसान मख्ख

Trulli
ADVERTISEMENT

बागलुङ- दूधमा आत्मनिर्भर बागलुङका किसानले सहकारी र समूहमा आबद्ध भएर दूधको उत्पादन तथा बजारीकरण गर्दै आएका छन् ।

 

दूध उत्पादन बढाएर किसानलाई थप व्यावसायिक र आत्मनिर्भर बनाउन भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र बागलुङले उत्पादनको आधारमा अनुदान रकम दिन थालेको हो ।

 
केन्द्रले सहकारीमार्फत दुग्ध उत्पादक किसानलाई प्रतिलिटर २ रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराउने भएको होे । सार्वजनिक सूचनामार्फत किसान समूह वा सहकारीमार्फत केन्द्रले प्रस्ताव आह्वान गरेको थियो । अहिलेसम्म जिल्लाभर ८ वटा सहकारीले अनुदानका लागि प्रस्ताव पेस गरेका छन् ।

 

गण्डकी प्रदेश सरकारको उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरूप यो वर्ष किसानले ४० लाख रुपैयाँ पाउँदै छन् । ८ वटा सहकारीमा आबद्ध ८ सय जना किसानले अनुदान पाउने पशु स्वास्थ्य अधिकृत केशव पौडेलले बताए ।

 

अनुदानलाई किसानसम्म पुर्‍याउन केन्द्रले दूध उत्पादन र बजारीकरणको मापदण्ड बनाएको छ । ‘गत आर्थिक वर्षमा ३ वटा सहकारीले मात्रै मापदण्ड पूरा गरेर अनुदान पाए,’ पौडेलले भने, ‘यो वर्ष किसान र सहकारीमा उत्साह देखिन्छ । सबैले मापदण्ड पूरा गरेर प्रस्ताव पेस गरेका छन् ।’

 

केन्द्रले दिने अनुदान पाउन सहकारीले १ महिनामा कम्तीमा २ सय लिटर दूध उत्पादन र बिक्री वितरण गरेको हुनुपर्ने मापदण्ड छ । हरेक महिना सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिने पौडेलले बताए । 

 

गत आर्थिक वर्षमा कालीगण्डकी दुग्ध उत्पादन सहकारी, नमुना दुग्ध उत्पादक सहकारी र बागलुङ पशु स्रोत विकास फार्मले अनुदान पाएका थिए । ‘अहिले पेस भएका सबै प्रस्तावले अनुदान पाउँछन् । बजेट पर्याप्त भएकाले समस्या हुँदैन,’ उनले भने, ‘अझै धेरै किसान मापदण्ड बाहिर छन् । उनीहरूसमेत आउने क्रम जारी छ ।’


दुग्ध उत्पादक सहकारीलाई प्रदान गरिएको अनुदान रकम सहकारीमार्फत किसानले प्राप्त गर्नेछन् । 


साना किसान लाभान्वित हुने भएकाले उत्पादनका आधारमा अनुदान रकम दिने नीति लिएको केन्द्रले जनाएको छ । किसानले पाउने अनुदान रकम चौमासिक भुक्तानी हुने हुनेछ । उत्पादन र बिक्री वितरणको तथ्यांक सहकारीले राख्नेछन् ।


सहकारीले पठाएको तथ्यांकको आधारमा केन्द्रले सीधै खातामा रकम जम्मा गरिदिनेछन् । ‘बजार मूल्य कम हुँदासमेत किसानलाई अनुदानले उत्साह थप्छ,’ कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका सचिव रुद्रनाथ शर्माले भने, ‘सहकारीबाट पाउने बोनस र अनुदानले उत्साहित छौँ ।’


बागलुङमा दैनिक २ हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ । जिल्लाभित्रका स-साना बजारका अलावा यहाँको दूध छिमेकी जिल्लामा समेत निर्यात हुने गरेको छ । 

 

जिल्लाको जैमिनी, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका अधिकांश किसान दूध उत्पादन तथा बजारीकरणसँग जोडिएका छन् । गलकोट नगरपालिका, बडिगाड र बरेङ गाउँपालिकाले समेत दूध उत्पादन र बजारीकरणको प्रयास थालेका छन् ।