close

भारतले दिएको कोरोना खोपः कसले पाउँछन्? कसरी हुँदैछ वितरण?

भारतले दिएको कोरोना खोपः कसले पाउँछन्? कसरी हुँदैछ वितरण?

Trulli
ADVERTISEMENT

काठमाडौं– छिमेकी देश भारतले कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको ५ दिनमै नेपालमा आइपुगेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा गएका बेला भएको सहमति अनुसार भारतले नेपाललाई १० लाख खोप प्रदान गरेको हो ।

 

यसअघि बुधबार कोरोना विरुद्धको खोप नेपाल ल्याउने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेरै जानकारी गराएसँगै बिहीबार कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुग्यो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर औपचारिक रुपमा खोप हस्तान्तरण गरे ।

 

कोरोना भाइरस विरुद्धका सयभन्दा बढी खोप ‘क्लिनिकल ट्रायल’ मा छन् । १३ वटा खोपहरु परीक्षणको अन्तिम चरण अर्थात तेस्रो चरणका छन् । त्यो चरणमध्ये पनि करिब तीन वटा खोप निर्माता फाइजर, मोदेर्ना, अक्स्फोड–एस्ट्राजेनिका नामका कम्पनीले आफ्नो प्रारम्भिक नतिजा देखाएका छन् ।


त्यो भनेको अहिलेसम्म परीक्षण भएको उत्पादनकर्ताको आफ्नो नतिजा हो । यही सिलसिलामा हेर्दा फाइजर कम्पनीले बनाएको खोपलाई बेलायतले आम प्रयोग गरिसकेको छ । भारतले नेपाललाई प्रदान गरेको खोप चाहिँ ‘कोभिसिल्ड’ हो ।


अन्य मुलुकमा कसरी भयो खोप वितरण ?


सुरुमा चर्चा गरौं, खोप लगाउन सुरु गरेका मुलुकबाट । सबैभन्दा पहिला कोरोना विरुद्धको खोप बेलायतले लगाउन सुरु गर्यो । उसले ‘फाइजर’ खोप सुरुमा ९० वर्षीय एक वृद्धलाई लगाएर सुरु गरेको थियो । उमेर समूहअनुसार कोरोना खोप लगाउने निर्णय गर्यो । सबैभन्दा धेरै जोखिममा रहेको समूहले सबैभन्दा पहिला खोप पाए ।


बेलायतको ज्वाइन्ट कमिटी अन भ्याक्सिनेसन एण्ड इम्युनाइजेसन (जेसीभीआई)ले स्याहार केन्द्रमा काम गर्ने र बसोबास गर्ने मानिसलाई सबैभन्दा पहिला खोप बितरण गर्यो । त्यसपछि ८० वर्ष नाघेका मानिस र नेशनल हेल्थ सर्भिस (एनएचएस)का कर्मचारीलाई यो खोप प्रदान गरिएको थियो ।


नेपालमा कसरी हुन्छ वितरण ?


बिहीबार आइपुगेको १० लाख खोप अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सामाजिक दूरी कायम गरी काम गर्न नसक्ने सार्वजनिक क्षेत्रका कर्मचारीलाई दिइनेछ । त्यसपछि ५५ वर्षभन्दा माथिका दीर्घरोगी प्राथमिकता सूचीमा राखिएको छ । तर, यि सबै खोप भने संस्थागत रुपमा वितरण गरिने स्वास्थ्य सेवा विभाग, खोप महाशाखाका प्रमुख डा. झलक गौतमले बताए ।


स्वास्थ्य सेवा विभागले यसअघि नै स्वास्थ्य संस्थाहरुसँग फ्रन्टलाइनरको नामावली माग गरिसकेको छ । खोप अभियान सञ्चालनका लागि कुन समयमा कसले कहाँ खोप प्राप्त गर्ने विवरण समेटिएको सूची तयार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


कसरी पठाइन्छ देशभर खोप ?


मन्त्रालयका अनुसार बिहिबार आएको सबै खोप स्वास्थ्य सेवा विभाग टेकुमा भण्डारण गरिएको छ । उक्त खोप एक साताभित्र वितरण गरिनेछ । विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । प्रदेशबाट जिल्ला र जिल्लाबाट प्राथमिक स्वास्थ्य केन्द्रहरूमा खोप वितरण गरिनेछ ।


कसले लगाइदिन्छ खोप ?


सरकारका अनुसार हाल नियमित खोप सेवाका लागि देशभर १६ हजार खोप केन्द्र छन् भने खोप लगाइदिने दक्ष जनशक्ति ८ हजार छन् । कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन तयारीका लागि मंगबारदेखि प्रशिक्षण कार्यक्रम पनि सुरु भइसकेको छ । अनुदानमा आएको १० लाख डोज खोप वितरण गर्न सकिने महाशाखाका प्रमुख डा. गौतमले बताए ।


कति सुरक्षित भारतीय खोप ‘कोभिसिल्ड’ ?

 

भारतमा गत शनिबारदेखि मात्रै कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको हो । भारतका एक सरसफाई कर्मचारीलाई दिएर सुरु गरिएको संसारकै सबैभन्दा ठूलो खोप अभियानको पहिलो दिन १ लाख ९१ हजारभन्दा बढी व्यक्तिलाई दिइएको थियो ।


 कोभ्याक्सिन र कोभिशील्ड दुवै खोप दिइएको पहिलो दिन ३ हजार ३ सय ५१ खोप केन्द्र सञ्चालनमा थिए । तर, कोरोना खोप कार्यक्रम अन्तर्गत खोप लिएका धेरै मानिसहरूमा यसको नकारात्मक असर देखिएको छ । अहिलेसम्म भारतका तीन लाख ८१ हजार स्वास्थ्यकर्मीले कोरोना खोप लिएका छन् ।


जसमध्ये ५ सय ८० जनामा खोपको नकारात्मक असर देखिएको छ भने ७ जनालाई अस्पतालमा भर्ना गर्नुपर्ने परेको छ । भारतमा कोरोना विरुद्धको खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार गत शनिबार कोरोना खोप लिएका दुई स्वास्थ्यकर्मीको आइतबार र सोमबार मृत्यु भएको हो । यद्यपि यी दुवै स्वास्थ्यकर्मीको मृत्युको कारण भने हृदयाघात भएको बताइएको छ ।


नेपालमा प्रयोग कति उचित, कति सुरक्षित ?


नेपालका जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे भने भारतमा देखिएको यि घटनालाई अपवाद मान्नुपर्ने बताउँछन् । चार लाखलाई खोप लगाउँदा दुई जनाको मृत्यु त्यो पनि अरु कारणले भएकाले यसलाई सामानय रूपले हेर्नुपर्ने उनको तर्क छ । डा. पाण्डे भन्छन्– ‘नर्वेमा फाइजर खोप लगाउँदा २३ जनाको मृत्यु भयो । किनभने फाइजर नयाँ प्रविधिले बनाइएको खोप थियो । तर, कोभिशिल्ड पुरानै प्रविधिले निर्माण गरिएकाले अरुभन्दा यो खोप सुरक्षित छ ।’