close

रूपन्देहीका १६ स्थानीय तहमा सुरु भयो गरिब परिवार पहिचान

रूपन्देहीका १६ स्थानीय तहमा सुरु भयो गरिब परिवार पहिचान

Trulli
ADVERTISEMENT

रूपन्देही- जिल्ला समन्य समिति रूपन्देहीले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण गर्ने तथ्यांक संकलनका लागि १६ वटै पालिकामा सुपरिवेक्षक र गणक खटाएको छ । उनीहरूलाई तालिम दिई विभिन्न ५ समूहमा खटाइएको हो ।

 

गरिब परिवार पहिचान तथा परिचय वितरण निर्देशिका, २०७५ मा गरिब परिवार पहिचानका लागि आवश्यक तथ्यांक संकलन तथा विश्लेषण गर्ने र गरिब परिवारको रूपमा पहिचान भएका परिवारलाई परिचयपत्र वितरण गरिने उल्लेख छ । 

 

सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले निर्देशिका जारी गरेअनुसार यो कार्यक्रम सुरु भएको हो । जिल्ला समन्वय समितिको कार्यालयकी शाखा अधिकृत लक्ष्मी शर्माका अनुसार रूपन्देहीका १६ पालिकामा १ सय ५५ जना गणक र सुपरिवेक्षक पठाइएको हो ।

 

उनीहरूले गाउँपालिका र नगरपालिकामा भएको तथ्यांक रुजु गरेर मन्त्रालयमा पठाउँछन् । मन्त्रालयले बनाएको मापदण्डअनुसार गरिब परिवार छनोट गरेर सम्बन्धित पालिकामा पहिला नामावली पठाउनेछ ।

 

‘पुनः पालिकाबाट उजुरी परे छानबिन गरिनेछ । मन्त्रालय नामावली पठाएपछि गरिब परिवारको परिचयपत्र मन्त्रालयले सम्बन्धित पालिकामा पठाएपछि वितरण हुनेछ’, शर्माले भनिन् । गणक र सुपरिवेक्षक दुवैको कार्यावधि ५ महिनासम्म रहेको शर्माले जानकारी दिइन् ।


पालिकामा जाने १ सय ५५ गणकको तालिम समापन अवसरमा जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख एकराज विश्वकर्माले गरिब घरपरिवार पहिचान महत्त्वपूर्ण रहने बताए । गरिब घरपरिवार पहिचानबाट विपन्न परिवारले राज्यबाट सहयोग पाउन सहज हुने उनको भनाइ छ ।


जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख, उपप्रमुख पशुपतिनाथ यादव, जिसस सदस्य खेमप्रसाद लुइँटेल, जिल्ला समन्वय अधिकारी रोमाकान्त पाण्डेयले गरिब परिवार पहिचान तथा परिचयपत्र निर्देशिका, २०७५, गरिब परिवार पहिचान, गरिब परिवारको स्वीकृति तथा परिचयपत्र वितरणलगायत विषयमा बोलेका थिए ।


तथ्यांक संकलनका लागि गणक खटाउँदा प्रत्येक गणकका लागि प्रतिमहिना हिमाली क्षेत्रमा २ सय ५०, पहाडी क्षेत्रमा ३ सय र तराई क्षेत्रमा ३ सय ७५ परिवारको विवरण संकलन गर्ने गरी खटाउनुपर्नेछ ।