close

भक्तपुर नगरपालिकाको आठौँ नगरसभा : आदर निकेतन सेवा सञ्चालनको बाटो खुल्यो

भक्तपुर नगरपालिकाको आठौँ नगरसभा : आदर निकेतन सेवा सञ्चालनको बाटो खुल्यो

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाको आठौं नगरसभाको बिहीबार बसेको बैठकले आदर निकेतन सेवा सञ्चालनका लागि आदर निकेतन सेवासम्बन्धी विधेयक, २०७७ पारित गरेको छ । यससँगै नगरले आदर निकेतन सेवा सञ्चालन गर्नेछ ।

 

निजी संस्थाले महँगो मूल्य लिएर वृद्धाश्रम खोलिरहेकामा भक्तपुर नगरले गरिब जनताको पहुँच पुग्ने आदर्श निकेतन सञ्चालन गर्न लागेको हो । नगरबासी ज्येष्ठ नागरिकलाई सेवा गर्ने उद्देश्यले विधेयक बनाइएको नगरपालिकाले बताएको छ । 


विधेयकमा नगरपालिकाले नगरभित्र कुनै स्थानमा आदर निकेतन वा आदर निकेतन दिवा सेवा केन्द्रको स्थापना गर्न सकिने, आदर निकेतन व्यवस्थापन कोष, शाखा प्रमुखको काम, कर्तव्य र अधिकार, आदर निकेतनको लेखा र लेखापरीक्षण, अन्त्येष्टि, सम्पत्तिसम्बन्धी व्यवस्थालगायत विषय उल्लेख छ ।

 

त्यसैगरी नगरपालिकाले शिशु स्याहार तथा बालविकास केन्द्र सञ्चालन कार्यविधि,२०७७ पनि पारित गरेको छ । भक्तपुर नगरले नगरभित्र ६ वटा शिशु स्याहार केन्द्र सञ्चालन गर्दै आएको छ । 


नगरभित्र स्थायी र अस्थायी बसोबास गरिरहेका नगरबासीका बालबालिकालाई न्यून शुल्कमा गुणस्तरीय स्याहारसुसार सेवा तथा शिक्षा प्रदान गर्ने, नगरपालिकाद्वारा सञ्चालित शिशु स्याहारको व्यवस्थापन शिक्षा, स्वास्थ्य तथा संस्कृति समितिले हेर्ने व्यवस्था रहेको उक्त कार्यविधिमा उल्लेख छ ।