close

बागमतीका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव पेश

बागमतीका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव पेश

Trulli
ADVERTISEMENT

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडलवि?द्ध आफ्नै पार्टीका सांसदले ल्याएको अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा पेस भएको छ ।

 

शुक्रबार बसेको प्रदेशसभा बैठकमा पूर्वउद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री तथा नेकपा (प्रचण्ड-माधव) समूहका सांसद अरुण नेपालले पौडेलविरुद्धको अविश्वास प्रस्ताव पेस गरेका हुन् । प्रस्ताव पेस गर्दै पूर्वमन्त्री नेपालले समृद्धि ल्याउन गठन भएको प्रदेश सरकारले जनभावनाअनुसार काम गर्न नसकेको आरोप लगाए ।

 

प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा काम गर्न नसकेको पनि उनले दाबी गरे । शुक्रबार दिउँसो १ बजे बसेको प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले सांसद नेपाललाई अविश्वासको प्रस्ताव सदनमा पेस गर्न अनुमति दिएका थिए ।

 

पौडेलवि?द्धको अविश्वास प्रस्ताव पेस भएसँगै प्रदेशसभाको बैठक स्थगन भएको छ । सभामुख श्रेष्ठले प्रदेशसभा बैठक स्थगित गरेको जानकारी दिए । प्रदेशसभाको अर्को बैठक १९ माघ दिउँसो २ बजे बस्नेछ । सभामुख श्रेष्ठका अनुसार आगामी बैठकमा सदनमा पेस भएको अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ ।

 

सांसद नेपालसहित पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल र सामाजिक विकासमन्त्री युवराज दुलालले नेकपा दुई कित्तामा विभाजित भएपछि मन्त्रीबाट सामूहिक राजीनामा दिएका थिए । 

 

मन्त्री पदबाट राजीनामा दिएलगत्तै आन्तरिक मामिलामन्त्री जम्मकट्टेल प्रस्तावक र मन्त्री नेपाल समर्थक रहेर मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव १० पुसमा प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।

 

सत्तारुढ नेकपाका दाहाल-नेपाल समूहका ४५ जना सांसदको हस्ताक्षरसहित दर्ता भएको अविश्वासको प्रस्तावमा संसदीय दलको चुनावमा मुख्यमन्त्री पौडलसँग पराजित सांसद अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीका लागि अगाडि बढाइएको छ ।


शुक्रबारको बैठकमा पनि सांसद नेपालले मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रूपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएकोसमेत बताएका थिए ।


अविश्वासको प्रस्ताव फेल हुन्छ : मुख्यमन्त्री पौडेल

 

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताबलाई नेकपा केपी ओली पक्षका सांसदले फेल गरिदिने दाबी गरेका छन् । शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव पेस भएसँगै ओली पक्षका सांसदले यस्तो दाबी गरेका हुन् ।

 

मुख्यमन्त्री पौडेलले आफूसँग प्रदेशसभामा बहुमत सदस्य रहेको भन्दै अविश्वासको प्रस्ताव फेल हुने ठोकुवा गरे । ‘प्रदेशसभामा अविश्वासको प्रस्ताब टेबुल मात्र हुन्छ । पास हुन दिन्नौँ । हामीसँग बहुमत सदस्य छन्’, पौडेलले भने ।

 

प्रधानमन्त्री ओली निकट मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाकै दाहाल-नेपाल समूहका ४५ जना प्रदेशसभा सदस्यले हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएका थिए । यीमध्ये प्रचण्ड-माधव समूहका ६ जना सांसदलाई ओली पक्षमा ल्याइएको मुख्यमन्त्री पौडेलको दाबी छ ।


बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधिको दबाबपछि सभामुख श्रेष्ठले शुक्रबारका लागि प्रदेशसभा बैठक आह्वान गरेका थिए । मुख्यमन्त्री पौडेल निकट सांसद दीपक निरौलाले अविश्वासको प्रस्ताव फेस गर्न तयार रहेको बताए ।