close

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमः स्थानीय तहसँग प्रस्ताव आह्वान 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमः स्थानीय तहसँग प्रस्ताव आह्वान 

Trulli
ADVERTISEMENT

खोटाङ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहमार्फत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई पत्राचार गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले १५ दिनको समयसीमा दिएर राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको हो ।


राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि विद्यालयबाट प्रस्ताव पठाउन आवश्यक व्यवस्था मिलाउनका लागि शिक्षा मन्त्रालयबाट ६ पुसमा पत्र पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसको भोलिपल्टै सबै स्थानीय तहलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव पठाउन पत्राचार गरेको हो ।


प्राप्त पत्रका आधारमा खोटाङका स्थानीय तहले पनि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव पठाउन सार्वजनिक सूचना आह्वान गरिरहेका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ बमोजिम शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा गत ४ माघमा निर्देशक समितिको बैठक बसेको थियो ।


बैठकले चालू आर्थिक वर्षका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भौतिक सुविधा विस्तारलगायत कार्यक्रममा सहभागी हुन सार्वजनिक विद्यालयलाई स्थानीय तहमार्फत प्रस्ताव पेस गर्न १५ दिनको समयसीमा दिएर सूचना प्रकाशित गर्ने निर्णय गरेको थियो ।

 

विद्यालयको भौतिक पूर्वाधार विकास र पुनर्संरचना, विद्यार्थीको सिकाइ उपलब्धि स्तर अभिवृद्धि, गुणस्तरीय शिक्षाका लागि नवीन प्रविधि, नवप्रवर्तन र सिकाइ सामग्री व्यवस्थापन, प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच अभिवृद्धिलगायत प्रस्तावका लागि प्राथमिकताका क्षेत्र तोकिएको शिक्षा मन्त्रालयको पत्रमा उल्लेख छ ।