close

कोरोना पीडितलाई पालिकाको अफरः काम गर पैसा लैजाउ (भिडियो खबर)

कोरोना पीडितलाई पालिकाको अफरः काम गर पैसा लैजाउ (भिडियो खबर)

ADVERTISEMENT

दोलखा- दोलखाको भीमेश्वर नगरपालिकाले कोभिड संक्रमणका कारण रोजगारी गुमाएकालाई रोजगारी प्रदान गरेको छ । महामारीबाट समुदायको आर्थिक अवस्था धराशयी बन्दै गएकाले स्थानीयको आर्थिक पुनरुत्थानका लागि रोजगारी प्रदान गरिएको हो ।

 

अहिले नगरपालिकाको योजनाअनुसार २ सय बढीले रोजगारी पाएका छन् ।  दोलखाको भीमेश्वर नगरपालिकाको ९ वटा वडाका २ सय ३ जनालाई ‘कामका लागि नगद’ कार्यक्रम सञ्चालनमा ल्याई रोजगारी प्रदान गरेको छ ।

 

कार्यक्रमअन्तर्गत वडा नम्बर १ मा कम्पाउन्ड वाल, वडा नम्बर  २, ६, ७, ८ र ९ मा रोड सोलिङ र वडा नम्बर ३, ४ र ५ मा गोरेटो बाटो स्तरोन्नति गरिएको छ । दैनिक कार्यप्रगति विवरण र लाभग्रहीलाई सल्लाह, सुझावसँगै काम लगाउँदा गुणस्तरीय हुने नगरपालिकाको प्राविधिक टोलीले सुझाव दिएको स्थानीय मानबहादुर खड्का बताउँछन् ।


स्थानीय स्तरमा प्रदान गरिएको रोजगारीले स्थानीय लाभान्वित भएका छन् । गाउँमा काम पाउन छाडेको अवस्थामा प्रदान गरिएको रोजगारी सिर्जना हुँदा गाउँमा विकास निर्माणले गति लिने स्थानीय मजदुर गोपालराज थामीको दाबी छ ।


यूएसएड–तयार नेपालको आर्थिक सहयोगमा ग्रामीण विकास टुकी संघको साझेदारी र नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा सहभागी कामदारलाई जिल्ला दररेटअनुसार दैनिक ज्याला ८ सय २५ रुपैयाँ दिइने गरेको मजदुर सुन्तला थामी सुनाउँछिन् ।


१२ पुसबाट सुरु गरिएको काम माघ पहिलो सातासम्म हुने ग्रामीण विकास टुकी संघले जनाएको छ । २० दिनसम्म सञ्चालन हुने काममा ज्याला मात्रै ३३ लाख ४९ हजार ५ सय रुपैयाँ खर्च हुने र ज्याला बैंकबाट भुक्तानी दिइने बताइएको छ ।