close

साप्सु खोलाको पुलः २० महिनामा बल्ल ३५ प्रतिशत काम

साप्सु खोलाको पुलः २० महिनामा बल्ल ३५ प्रतिशत काम

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुलको काम ३५ प्रतिशत पूरा भएको छ । 

 

करिब ४ महिना म्याद बाँकी रहँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ४ खाल्ले र दिप्रुङ चुइचुम्मा वडा नम्बर १ याम्खा जोड्ने साप्सु खोलाको मोटरेबल पुलको काम ६५ प्रतिशत बाँकी देखिएको हो ।

 

४० मिटर लम्बाइको पुलको काम निर्धारित समयमै पूरा गर्ने गरी काम भइरहेको निर्माण कम्पनी सूर्य एन्ड सन्स प्रालि सुनसरीले दाबी गरेको छ । 

 

निर्माण कम्पनीका अनुसार प्रिस्ट्रेस बिम पुलको हालसम्म दुबै किनाराको पिलर ठड्याउने काम सम्पन्न भइसकेको छ । खोलाको पश्चिमतर्फ डाइभर्सन गरेर केही दिनपछि बोर्ड र टेको लगाउन सटरिङ फर्माको काम सुरु गरिने कम्पनीका प्रोजेक्ट इन्चार्ज एवं एकाउन्टेन्ट हरिप्रसाद बरालले बताए ।

 

‘अहिले मेसिनरी वालको काम भइरहेको छ । पुलको कामका लागि आवश्यक गिटी जुटाउन ढुंगा संकलन भइरहेको छ । रड ल्याउने क्रम जारी छ,’ बरालले भने, ‘आवश्यक बालुवा जम्मा भइसकेको छ । तोकिएको समयभित्र पुल निर्माण गरेर जिम्मा लगाउने गरी काम गरिरहेका छौँ ।’ 


सूर्य एन्ड सन्स प्रालिले १७ जेठ २०७८ मा प्रिस्ट्रेस बिम पुल निर्माणको काम सम्पन्न गर्ने गरी १७ जेठ २०७६ मा सम्झौता गरेको थियो । सम्झौताअनुसार पुल निर्माण गर्ने म्याद करिब ४ महिना मात्र बाँकी छ । बाँकी समयभित्र पुलको काम सम्पन्न हुनेमा भने स्थानीय आशंका गर्छन् ।

 

५ करोड ६० लाख १० हजार ५ सय ४५ रुपैयाँमा ठेक्का लिएको निर्माण कम्पनी ले शिलान्यास भएको ६ महिनापछि पुलको काम सुरु गरेको थियो । स्थानीय सडक पुल कार्यक्रम (एलआरबीपी) को प्राविधिक सहयोगमा निर्माण सुरु गरिएको पुल दिप्रुङ चुइचुम्माका अध्यक्ष भूपेन्द्र राईले ११ असार २०७६ मा शिलान्यास गरेका थिए । 

 

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका क्रममा लागू गरिएको लकडाउनका बेला पनि निर्माण कम्पनीले पुल निर्माणलाई निरन्तरता दिएको थियो । तर, पुल निर्माणको कामले सन्तोषजनक गति नलिएको स्थानीयको भनाइ छ ।

 

दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने साप्सु खोलामा स्थायी आउजाउका लागि प्रिस्ट्रेस बिम पुल निर्माण अघि बढाइएको हो । प्रिस्ट्रेस बिम पुल बिममा तार घुसाएर तार तन्काई तारमा लोड दिएर निर्माण गरिने प्रकृतिको पुल हो ।

 

विशेषगरी दिप्रुङ चुइचुम्मा र खानीडाँडा बिमानस्थललाई जोड्ने गरी साप्सु खोलामा पुल निर्माण अघि बढाइएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले जनाएको छ । सडकको बीचमा पर्ने खोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले २९ कात्तिक २०७४ मा सडक विभाग पाटनढोका ललितपुरमा निवेदन दिएको थियो । 

 

साप्सु खोलामा पक्की पुल निर्माण भएपछि दिप्रुङ चुइचुम्माका याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङलगायतका स्थानीयलाई साविकको सदरमुकाम दिक्तेल आउजाउ गर्ने सबैभन्दा छोटो बाटो हुनेछ । ‘पुलको काम समयमै बन्नुपर्छ । मितिमा तलमाथि गर्न दिइन्न’, दिप्रुङ चुइचुम्माका अध्यक्ष भूपेन्द्र राईले भने ।