close

जनकपुरधामको संयोजनमा निस्कियो 'राग-तान'

जनकपुरधामको संयोजनमा निस्कियो 'राग-तान'

Trulli
ADVERTISEMENT

धनुषा- कला, साहित्य र लेखन पेसाको श्रीवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरले गीति साहित्य एल्मब प्रकाशन गरेको छ । उमहानगरले प्रकाशन गरेको गीतिसंग्रहको लेखन साहित्यकार अशोक दत्तले गरेका हुन् ।


२ सय ३० पेजको गीत संग्रह पुस्तकमा सबै गीत मैथिली भाषामा रहेका छन् । पुस्तकको ५ खण्डमा १ सय ८० वटा मैथिली गीत समेटिएका छन् । ३ दशकमा झन्डै ४ सय ५० गीत लेखेका गीतकार अशोक दत्तको रचनामा रहेको यो संग्रहमा मैथिली, कला, सांस्कृतिक, जनजागरण, सन्देशमूलक, धार्मिक र बालगीत समेटिएका छन् ।

 

पुस्तकको नामकरण राग तान रहेको छ । राग तान गीति संग्रह पुस्तकमा छापिएको ३० प्रतिशत गीत पहिले नै रेकर्ड भइसकेको गीतकार अशोक दत्तले बताए । उनका अनुसार स्थानीय सरकारले पुस्तक प्रकाशनलाई निरन्तरता दिए साहित्यकार र लेखकका लागि सहयोग पुग्नेछ ।


आफ्नो स्थानको कला, संस्कृति, भाषा, बोलीको संरक्षण र सम्वद्र्धन गर्नु स्थानीय सरकारको जिम्मेवारी भएकाले उपमहानगरले आफ्ना क्षेत्रका साहित्य सर्जकलाई सम्मान गर्नु गर्वको विषय हुने उनको भनाइ छ ।

 

जनकपुरधाम उपमहानगरद्वारा प्रकाशित र गीतकार दत्तद्वारा लिखित गीति संग्रहको विमोचन प्रदेश २ नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, उममहानगरका प्रमुख लालकिशोर साह, उपप्रमुख रीता झा, प्रमुख प्रशासकीय अधिकृत, प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपाली, साहित्यकार रोशन जनकपुरी, मिथिला नाट्य कला परिषदका पूर्वअध्यक्ष सुनील मल्लिकले संयुक्त रूपमा गरे ।


कार्यक्रममा नगरप्रमुख साहले कला, साहित्य र सिर्जनाको श्रीवृद्धिका लागि नगरपालिका सकारात्मक रहेको विश्वास दिलाए । भाषा, कला, साहित्यको उत्थानका लागि उपमहानगरले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्न लागेको उनले जानकारी दिए ।

 

विमोचन कार्यक्रममा नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले उपमहानगरबाट गीतिसंग्रह प्रकाशन हुनुले कला, संस्कृतिको मात्र नभई साहित्यकार तथा लेखकको समेत मनोबल उच्च हुने बताए । गीत संग्रह पुस्तक विमोचन अवसरमा गायिका सुनिता साहको गीति एल्बमको सिडीसमेत सार्वजनिक गरियो ।


एल्बममा गायिका साहको स्वरमा धरामार्ग स जन्मे जानकी... बोलको गीति पनि समेटिएको छ । कार्यक्रममा दत्त र साहलाई सम्मानसमेत गरियो ।