close

जुम्लामा गर्मायो निर्वाचनकाे रौनक

जुम्लामा गर्मायो निर्वाचनकाे रौनक

Trulli
ADVERTISEMENT

जुम्ला- सरकारले आगामी १७ र २७ वैशाखमा तय गरेको निर्वाचनकाे तयारी जुम्लामा पनि सुरु भएको छ । त्यसका लागि मतदान स्थल र केन्द्र हेरफेरदेखि राजनीतिक दलसँग छलफल अगाडि बढेको छ ।


जुम्लाका सम्पूर्ण राजनीतिक दल, सरकारी कार्यालय, नागरिक समाज र सञ्चारकर्मीको सहभागितामा मतदाता नामावली अद्यावधिक, दाबी विरोध तथा तयारीसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकृत कैलाशबहादुर ठकुराठीले बताए । 


उनका अनुसार १५ माघदेखि स्थानीय तहमा ७ दिन र जिल्ला स्तरमा १२ दिन मतदाता नामावली अद्यावधिकको काम गरिनेछ । २०७४ को स्थानीय तहको निर्वाचनमा जुम्लाभरि ७६ वटा मतदाता केन्द्र थिए । यस पटक ५ वटा थपेर ८१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । 


मतदान स्थलसम्म नागरिकको सहज पहुँच पुर्‍याउन विकट गुठिचौर, पातारासी र सिंजा गाउँपालिकामा ५ वटा मतदान केन्द्र थप गरिएको निर्वाचन अधिकृत ठकुराठीले बताए । २०७४ को चुनावमा ६२ हजार बढी मतदाता रहेको जुम्लामा गत पुसम्मको अवधिमा करिब ६७ हजार बढी मतदाता थप भएका छन् । 

 

निर्वाचन कार्यालयले मतदाता नामावलीे अद्यावधिक गर्ने, मतदाता नामावलीमा नाम बिग्रिएको भए सच्याउने, मतदाता नामावलीमा हुने दोहोरोपना तथा त्रुटि घटाउने, हालसम्म जिल्लामा संकलित मतदाता नामावलीलाई वैधानिकता दिने र अद्यावधिक मतदाता नामावली तयार गर्नेलगायतका काम अघि बढाएको छ ।

 

गत ५ पुससम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावली भएको सबैले मतदान गर्न पाउनेछन् । कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख कार्मा बुढाले सबै खाले नागरिकको मतदात स्थलसम्म पहुँच पुग्ने गरी शान्तिपूर्ण ढंगबाट निर्वाचन हुने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।

 

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले शान्त र स्वच्छ निर्वाचन सफल पार्न शान्ति-सुरक्षाका दृष्टिले तयारी सुरु भइसकेको जानकारी दिए । नागरिकले अदालतको फैसला कुरे पनि आयोगको सर्कुलरअनुसार जिल्लामा चुनावको तयारी अघि बढेको उनको भनाइ छ ।