close

मलिकाको धुनोटमा बिजुली बल्यो 

मलिकाको धुनोटमा बिजुली बल्यो 

Trulli
ADVERTISEMENT

म्याग्दी - जिल्लाको मालिका गाउँपालिका–७ बिमको धुनोट गाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको छ । 


नेपाल विद्युत् प्राधिकरण र मालिका गाउँपालिकाको सहकार्यमा धुनोटमा विद्युतीकरण गरिएको हो । ३९ घरधुरीको बसोबास रहेको धुनोट गाउँमा केन्द्रीय लाइनको बिजुली बालिएको बिमका वडाध्यक्ष रेशम जुग्जालीले जानकारी दिए । 


धुनोटमा विद्युतीकरणका लागि मालिका गाउँपालिकाले आव ०७५/०७६ मा ९  लाख रुपैयाँ विनियोजन गरेको थियो । ‘गत चैत महिनामै बिजुली बाल्ने गरी सबै तयारी भएको थियो’, वडाध्यक्ष जुग्जालीले भने, ‘कोरोनाको जोखिम र लकडाउनका कारण रोकिएको बिजुली बाल्ने योजनाले पूर्णता पाएको छ ।’


धुुनोटसहित बिमका सबै बस्तीमा केन्द्रीय प्रसारण लाइनको विद्युत सुविधा पुगेको छ । गत असार २५ र २६ को पहिरोका कारण बिममा अवरुद्ध विद्युत् स्थानीय युवा क्लबको अगुवाइमा मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो । 


धुनोटका बासिन्दाले यसअघि उज्यालोका लागि पेल्ट्रिक सेट र सोलार प्रयोग गर्दै आएका थिए । केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि स्थानीयको दैनिकी सहज हुनेछ ।