close

त्रिवेणीमा गाउँघर चिकित्सक शिविर : २ सय बढी लाभान्वीत

त्रिवेणीमा गाउँघर चिकित्सक शिविर : २ सय बढी लाभान्वीत

Trulli
ADVERTISEMENT

बाजुरा- त्रिवेणी नगरपालिकामा २ दिने गाउँघर चिकित्सक शिविर कार्यक्रमबाट २ सय स्थानीयले सेवा पाएका छन् । नगरपालिकाको वडा नम्बर ४ टुडेगडामा शुक्रबारदेखि सञ्चालन भएको शिविरमा नगरभित्रका नागरिकले निःशुल्क स्वास्थ्य परामर्श पाएका हुन् ।

 

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय र जिल्ला अस्पताल बाजुराको आयोजनामा २ दिने गाउँघर चिकित्सक शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
 
त्रिवेणी नगरपालिकाको सहयोग र समन्वयमा नगरपालिकामा रहेका सीमान्तकृत वर्ग, फरक क्षमता भएका, बालबालिका, वृद्धवृद्धा, गर्भवती महिलालगायतको स्वास्थ्य परीक्षण गरी सेवा प्रदान गर्ने उद्देश्यले २ दिने शिविर आयोजना गरिएको नगरप्रमुख रामसिंह रावलले बताए । ‘नगरभित्र आर्थिक अभावले उपचार गर्न नसक्ने व्यक्तिलाई लक्षित गरी शिविर सञ्चालन गरेका हौँ’, उनले भने ।

 

शुक्रबार पहिलो दिन २ सय नागरिकले सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवीप्रसाद शाहले बताए । नगर प्रमुख रावलले जिल्ला अस्पताल बाजुराबाट खटिएको स्वास्थ्यकर्मीको टोलीलाई स्वागत गरेका थिए ।

 

शिविरमा त्रिवेणीका १ देखि ९ वडासम्मका नागरिकले स्वास्थ्य परीक्षणको सेवा लिन सक्ने सूचना अधिकृत नरेशराज पन्तले जानकारी दिए ।