close

छोरी बिमा कार्यक्रम चलाउँदै सिस्ने

छोरी बिमा कार्यक्रम चलाउँदै सिस्ने

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वको सिस्ने गाउँपालिकाले छोरी जन्मिनासाथ बिमा गरिदिने भएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रमा जन्मने छोरीको बिमा गर्ने निर्णय गरेको हो ।

 

चालू आर्थिक वर्षमा जन्मिसकेकाको पनि बिमा हुनेछ । सिस्ने गाउँकार्यपालिकाको ५८ औँ बैठकले पारित गरेको यो निर्णय गाउँसभाको हिउँदे अधिवेशनबाट पनि अनुमोदन भइसकेको छ ।

 

बैंकमा खाता खोलेर हरेक छोरीको नाममा ५÷५ हजार रुपैयाँ गाउँपालिकाले नै जम्मा गरिदिनेछ । गाउँपालिकाले छोरीको बिमाका लागि आवश्यक प्रक्रियामा जान सर्वसाधारणलाई अनुरोध गरेको छ ।

 

तोकिएको मापदण्ड पूरा गरेर वडा कार्यालयमार्फत गाउँपालिकामा आएर छोरीको बिमा गरिदिन गाउँलेलाई सूचित गरेको हो । स्वास्थ्य, सचेतना, जागरणका लागि छोरी बिमा कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

 

यसबाट रुपान्तरणको अभियान सुरु भएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् । ‘आमा र बच्चाको स्वास्थ्य सुरक्षा र जनचेतना बढाउने हाम्रो उद्देश्य हो’, उनले भनिन्, ‘व्यावहारिक रूपमा कार्यान्वयन गर्दा मान्छेमा चेतना बढेर व्यावहारिक बन्ने वातावरण आउने अपेक्षा छ ।’


छोरी बिमा कार्यक्रमबाट छोरीको सुरक्षालाई पनि प्राथमिकतामा राखिएको छ । कम उमेरमै बिहे नगरुन्, पढाइ पूरा गर्न सकून् र सरकारी निकायमा दर्ताका सम्पूर्ण कुरा पूरा होऊन् भन्ने उद्देश्य पनि राखिएको अध्यक्ष बरालले बताइन् । 

 

बिमा अभियान पनि छोरीको पढाइ सुरक्षा, जीवन सुरक्षामा प्रतिविम्बित भएको उनको बुझाइ छ । गाउँपालिकाले छोरीको बिमा प्राप्त गर्न निश्चित प्रक्रिया भने तोकेको छ । छोरी गर्भमा रहँदा आमाले ४ पटक गर्भ जाँच गराएको, स्वास्थ्य संस्थामै बच्चा जन्माएको र जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरेको हुनुपर्नेछ ।

 


सबै प्रक्रिया पूरा भएपछि वडाको सिफारिसमा छोरी बिमाका लागि गाउँपालिकाले नै खाता खोलिदिनेछ । यो खाता मुद्दती हुनेछ । छोरी २० वर्ष पुगेपछि मात्रै त्यो रकम निकाल्न पाउनेछन् । त्यसका लागि २० वर्ष नपुगी विवाह नगरेको र पढाइ नछाडेको हुनुपर्नेछ । २० वर्षपछि उक्त रकम छोरीले निकालेर आफैं चलाउन पाउने गरी कार्यविधि बनाइएको छ । 

 

चालू आर्थिक वर्षमा बिमाका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । यसले मात्रै नपुग्ने अवस्थामा थप बजेट व्यवस्थापन गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले बताए । ‘पहिलो चरणमा यो बजेट पर्याप्त होला भन्ने अनुमान गरिएको छ’, उनले भने, ‘बजेट अभाव हुने छैन ।’