close

निर्वाचनमा सघाउन मन्त्रालयको स्थानीय तहलाई पत्र

निर्वाचनमा सघाउन मन्त्रालयको स्थानीय तहलाई पत्र

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचनका लागि समग्र कार्यक्रम सञ्चालनमा समन्वय गरिदिन देशभरका स्थानीय तहलाई परिपत्र गरेको छ । 

 

मन्त्रालयले जिल्ला स्तरमा आवश्यक जनशक्तिको सहजीकरणमा व्यवस्थापन गर्न, तोकिएको समयमा बैठक बस्ने र प्रचार-प्रसारका लागि आवश्यक सहयोग गर्न र मतदाता नामावली अद्यावधिकमा सहयोग गर्न स्थानीय तहहरूलाई पत्र पठाएको हो ।

 

मन्त्रालयले मतदाता नामावली अद्यावधिक कार्यक्रम, २०७७ कार्यान्वयनका सन्दर्भमा निर्वाचन आयोगमा २ माघ २०७७ मा बसेको केन्द्रीय समन्वय तथा अनुगमन समितिको बैठकको निर्णय प्रतिसमेत संलग्न राखी कार्यान्वयन एवं समन्वयका लागि पत्र पठाएको हो ।

 

मन्त्रालयले मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने तथा बसाइँ सरी अन्यत्र गएका वा मृत्यु भएका वा नागरिकता त्याग गरेका वा नागरिकता रद्ध भएका मतदाताको विवरण स्थानीय पञ्जाधिकारीबाट प्राप्त गर्ने कार्यमा स्थानीय तहका कर्मचारीलाई सहयोगका लागि पत्र पठाएको हो ।

 

यो कार्य गर्न सम्बन्धित स्थानीय तहमा कार्यरत सहायक स्तरको कर्मचारी वा स्थानीय तह रहेको केन्द्रको वडा सचिवलाई जिम्मेवारी दिने निर्वाचन आयोगले निर्णय गरिसकेको छ ।

 

स्थानीय तहले अब सहायक नाम दर्ता अधिकारी तोक्दा गाउँपालिकामा भए पाँचौँ वा सोभन्दा माथिको, नगरपालिकामा भए ६ औँ वा सोभन्दा माथिको र महानगर र उपमहानगरमा भए ७ औँ वा सोभन्दा माथिको कर्मचारीलाई खटाउन प्राथमिकता दिने र मतदाता नामावली अद्यावधिक दाबी विरोधसमेत) को कार्य पूरा गर्ने जिम्मेवारी दिएको छ । 

 

आयोगको कार्यक्रमअनुसार १५ माघमा स्थानीय तहको केन्द्रमा मतदाता नामावली प्रकाशन हुनेछ भने १६-१८ सम्म अद्यावधिक कार्य हुनेछ ।

 

अद्यावधिक कार्यमा मतदाता नामावलीमा रहेको नाम वा त्रुटि सच्याउने, दोहोरो नाम हटाउन निवेदन दिने, मृत्यु भएका र नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन सूचना दिने, कसैले झुटो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको बिरोधमा उजुरी दिनेजस्ता कार्य हुनेछन् ।