close

जगन्नाथ गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न

जगन्नाथ गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको जगन्नाथ गाउँपालिकाको आठौँ गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाही अध्यक्षताको अधिवेशनले विभिन्न निर्णय पारित गरेको छ ।
 
हिउँदे अधिवेशनमा पुँजीगततर्फ १४ करोड ५९ लाख ८५ हजार रुपैयाँको बजेट विनियोजन भएको र चालूतर्फ ६ करोड ३८ लाख ९४ हजार विनियोजन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदप्रसाद गैरेले बताए ।
 
अध्यक्ष कालीबहादुर शाहीले गाउँसभालाई सम्बोधन गर्दै यो खर्चमा शिक्षा, स्वास्थ्यलगायत अन्य ससर्त रकममा ८ करोड ९३ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमको १ करोड ४३ लाख ९३ हजार, बहुक्षेत्रीय पोषणतर्फ २१ लाख, सामाजिक सुरक्षातर्फ २ करोड ३५ लाख समावेश गरिएको जानकारी दिए ।
 
चालू आर्थिक बर्षको यस अवधिसम्म गाउँपालिकाकाले घ वर्गका ७ वटा इजाजतपत्र वितरण, ३ वटा सहकारी दर्ता र ३२ वटा पसल दर्ता गरेको गाउँपालिकाका प्रवक्ता डबल विकले बताए ।
 
जगन्नाथको आठौँ गाउँसभाले छैटौँ गाउँसभाले निर्धारण गरेको ढुंगा, गिटी, बालुवाको राजस्व दररेट संशोधन गरी बालुवा प्रतिट्रयाक्टर ६ सय, गिटी प्रतिट्रयाक्टर ४ सय र ढुंगा प्रतिट्रयाक्टर २ सय रुपैयाँ निर्धारण गरेको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिए ।
 
गाउँसभामा गाउँपालिकाले चालू आर्थिक वर्षमा गरेका विभिन्न योजनाको प्रगति विवरण प्रस्तुत गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री रोजगार, अध्यक्ष रोजगार कार्यक्रम, कोभिड परियोजना पुनर्उत्थान तथा आर्थिक जीविकोपार्जन कार्यक्रम, वडा कार्यालय निर्माण प्रक्रिया आदिबारे अध्यक्ष शाहीले सभामा प्रस्तुत गरेका थिए ।
 
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ऐना गिरी, वडाध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न शाखाका कर्मचारी, विभिन्न संघ-संस्था तथा निकायका प्रमुखको समेत उपस्थिति थियो ।