close

चरीकोट अस्पतालमा पहिलो पटक सानो आन्द्राको शल्यक्रिया 

चरीकोट अस्पतालमा पहिलो पटक सानो आन्द्राको शल्यक्रिया 

Trulli
ADVERTISEMENT

दोलखा- भीमेश्वर नगरपालिकाको लगानीमा सञ्चालित सदरमुकाम चरीकोटमा रहेको अस्पतालमा मेलुङ गाउँपालिका वडा नम्बर १ का ८६ वर्षीय एक वृद्धाको ५० सेमि कुहिएको सानो आन्द्राको स्टयाङगुलेटेड हर्नियाको सफल शल्यक्रिया भएको छ ।


५० सेन्टिमिटर सानो आन्द्रा कुहिएका दलबहादुर पाण्डेको अहिले अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । पाण्डेको उपचार निःशुल्क गरिएको अस्पतालका डा. विनोद दंगालले बताए ।

 

दोलखाको ग्रामीण भेगबाट उपचारका लागि आएका विपन्न वृद्ध पाण्डेलाई उपचारका लागि काठमाडौंसम्म पुर्‍याउन आर्थिक अवस्थाको कारण असम्भव थियो । काठमाडौंका अस्पतालमा यो शल्यक्रिया गर्न ३ लाख रुपैयाँ जति लाग्ने डा. दंगालको भनाइ छ ।

 

चरीकोट अस्पतालका डा. दंगाल नेतृत्वमा डा. घनश्याम साह, डा. हिमशैल खड्का, नर्स फेसी जिरेल, नर्स रश्मी बासीको टोलीले सफल अप्रेसन गरेको हो । यो अस्पतालमा अहिले दैनिक २ सयको संख्यामा बिरामी आउने गरेका छन् । निःशुल्क उपचार सेवा उपलब्ध भएका कारण बिरामीको चाप बढेको हो ।

 

अस्पतालमा गैरसरकारी संस्थाल न्याय हेल्थले सहयोग गर्दै आएको थियो । १५ कात्तिक २०७७ बाट यो संस्थाले सहयोग उपलब्ध गराउन छाडेको डा. दंगालले जानकारी दिए ।

 

३ महिनायता चरीकोट अस्पतालले ४ सय ९० जनाको डेलिभरी, सिजेरियन सेक्सन १ सय, मेजर शल्यक्रिया १ सय १०, ओपीडी बिरामी १५ हजार, इमर्जेन्सी सेवा १ हजार ९ सय, कोभिड बिरामी १ सय र पीसीआर टेस्ट १ हजार ५ सय जनाको गरिएको डा. रिना लामिछानेले बताइन् ।

 
५ माघ २०७२ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र न्याय हेल्थ नेपालबीच चरीकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई सार्वजनिक-निजी साझेदारीको अवधारणाअनुसार ५० भन्दा बढी बेड क्षमताको हुने गरी १० वर्षसम्म सञ्चालन गर्न सम्झौता भएको थियो । 

 

सम्झौतामा तोकिएको अवधिभर पर्याप्त स्वास्थ्यकर्मी, निःशुल्क औषधोपचारसँगै सम्पूर्ण सेवा-सुविधा निःशुल्क प्रदान गर्नुपर्ने थियो ।

 

तर, अस्पताल सञ्चालनमा दलीय हस्तक्षेप बढेपछि संस्थाले हात झिकेको हो । अहिले भीमेश्वर नगरपालिकाको पहलमा प्रदेश अस्पतालमा रुपान्तरण हुँदै छ ।